काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) का स्थायी समिति बैठकको आज तेस्रो दिन पनि जारी छ। आइतबारदेखि सुरु भएको बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बिहान साढे ११ बजेबाट सुरु भएको हो।
नेकपा अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको परामर्शमा अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा आजको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम निरन्तर रहेको नेकपाका कार्यालय सचिव इश्वरी रिजालले जानकारी दिए।
नेकपा स्थायी समिति बैठकको दोस्रो दिन ३० मंसीरमा हरेक सदस्यलाई २० मिनेट बोल्न समय दिइएको थियो। ४५ सदस्य रहेको नेकपाको स्थायी कमिटीमा सोमबार १२ सदस्यले बालेका थिए। आज थप नेताहरुले आफनो धारणा राख्नेछन्।
सो क्रममा अध्यक्ष दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन र महासचिव पौडेलको विधान संशोधन प्रस्तावउपर बामदेव गौतम, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञवाली, छविलाल विश्वकर्मा, गणेश शाह, योगेश भट्टराई, पम्फा भुसाल, मुकुन्द न्यौपाने, अग्नि सापकोटा, देवेन्द्र पौडेल र देव गुरुङले धारणा राखेका थिए।
स्थायी समिति बैठकको तेस्रो दिन आज पनि संगठन सुदृढीकरण तथा सरकारको कामलाई प्रभावकारी बनाउनसमेत सदस्यहरूले आ-आफ्ना सुझाव राख्ने कार्यसूची छ। नेताहरुले एकसरो धारणा राखेपछि उठेका प्रश्नहरुको अध्यक्षले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव आवश्यक सुझावसहित परिमार्जन हुनेछ।
आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको ११ पृष्ठ लामो प्रतिवेदनबारे बैठकमा छलफल भइरहेको छ। बैठकमा पार्टीका अर्का अध्यक्ष केपी ओली भने सहभागी छैनन्। नेकपाको स्थायी समिति बैठक एक वर्षपछि बसेको हो। स्थायी समिति ४५ सदस्यीय छ।