संगठन शुद्धीकरण गर्ने पत्रकार महासंघको निर्णय 

patrakar mahasang
लाेकपाटी न्यूज

काठमाडौं। नेपाल पत्रकार महासंघले संगठन शुद्धीकरण अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि तिनै तहका निर्वाचित जनप्रतिनिधि, सुरक्षा निकाय, निजामति कर्मचारी, राजनैतिक दलका केन्द्र, प्रदेश र जिल्ला तहका पदाधिकारीहरुको सदस्यता नविकरण नगर्ने निर्णय महासंघले गरेको छ।

महासंघको केन्द्रीय संगठन समितिको बैठक एवं सांगठनिक भेला अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा मंसिर २९ र ३० गते नवलपुरमा ‘पूर्वी नवलपरासी’ घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो।

सो बैठकले गोरखा बैठकमा प्रस्तुत भई संगठनात्मक भेलामा प्रस्तुत गरी पारित गर्ने निर्णय भएको पत्रकार महासंघको नयाँ सदस्यता प्राप्ति तथा सदस्यता नवीकरण सम्बन्धी कार्यविधि २०७६पारित भएको छ। पारित कार्यविधि तथा विधानको व्यवस्थाकाआधारमा आगामी पुष मसान्तसम्म शाखा मार्फत नयाँ सदस्यताको आवेदन लिई माघ १५ गतेसम्म शाखाले अनुमोदनका लागि प्रदेश समितिमा शिफारिस गरी पठाउने र प्रदेश समितिले फागुन १५ सम्म केन्द्रीय समितिमा पठाउने निर्णय गरिएको छ।

केन्द्रले अभिलेखीकरण गरेपछि मात्रै नयाँ सदस्यता कार्यान्वयन हुनेछ। यसैगरी सदस्यता नविकरणको हकमा पनि सोही बमोजिम हुने छ। पत्रकार महासंघको गत साधारणसभावाट पारित विधानको व्यवस्था अनुसार महासंघका तिनवटै तहको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् गर्नुपर्ने भएकाले हाल कार्यरत जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरुको म्याद केन्द्रीय समितिको कार्यकाल रहेसम्म रहने निर्णय गरिएको छ।

महासंघले संसदमा विचाराधिन विवादास्पद मिडिया काउन्सिल विधेयकमा सुधारका लागि महासंघले बुझाएको लिखित सुझाव समेटेर विधेयक ल्याउन आग्रह गरेको छ। यस्तै, पछिल्ला दिनमा पत्रकारमाथि कुटपिट तथा प्रेस विरोधी गतिविधि बढेको भन्दै नियन्त्रण गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्