काठमाडौं। नेपाली कांग्रेसमा देखिएको विवाद समाधान खोज्न वार्ता समितिको बैठक बस्दैछ। अहिलेसम्मका छलफलमा भएका प्रगतिलाई ठोस रुप दिन पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बैठक बस्न लागेको हो।
समितिमा उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह, दिलेन्द्रप्रसाद बडू र हृदयराम थानी छन्। भ्रातृसंस्था तरुण दलमा पोखरामा भएको सहमतिअनुसार भागबण्डा गरेर अघि बढ्नेसमझदारी छ।
पोखरामा संस्थापनले तत्कालीन कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षलाई मिलाउने गरी ९५ सदस्यीय केन्द्रीय समितिमा ६५ प्रतिशत लिने र पौडेल पक्षलाई ३५ प्रतिशत दिने सहमति बनेको थियो। त्यही सहमतिका आधारमा अघि बढ्न आफूहरु तयार रहेको थानीले बताए।
नेविसंघमा विवाद मिलिसकेको छैन। तर, विवाद साघुँरिएको नेताहरुले दाबी गरेका छन्। ‘विवाद साँघुरिँदै गएको छ, सम्भवत आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुने वातावरण बन्ला,’ केन्द्रीय सदस्य थानीले इकान्तिपुरसित भने।