कांग्रेसमा विवाद नमिल्दा बैठक फेरि स्थगित

congress
लाेकपाटी न्यूज

काठमाडौं। कांग्रेस केन्द्रीय समितिको बुधबार बोलाइएको बैठक पनि स्थगित भएको छ। बैठकका एजेन्डामा संस्थापन र असन्तुष्ट पक्षबीच सहमति हुन नसकेपछि बैठक स्थगित भएको हो।

एजेन्डामा सहमित नगरीकन बोलाइएको बैठकमा सहभागी नहुने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्दै आएको छ। बुधबार पनि असन्तुष्ट पक्षले बैठक बहिष्कार गर्ने संकेत दिएपछि सभापति शेरबहादुर देउवाले पुस ४ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

बैठक स्थगनसँगै संस्थापन र असन्तुष्ट दुवै पक्षका नेताहर आन्तरिक छलफल र गुट बैठकमा व्यस्त भएका छन्। बुधबार देउवा निवास बुढानीलकण्ठमा पनि संस्थापन पक्षको अनौपचारिक छलफल भएको छ। त्यसैगरी असन्तुष्ट समूहको बैठक असन्तुष्ट समूहका नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा बसेको छ। छलफलमा प्रकाशमानसिंह, कृष्णप्रसाद सिटौला लगायत छन्।

पौडेल र सिटौला पक्षले निरन्तर असहयोग गरेको भन्दै संस्थापन पक्ष पेलेर जाने रणनीति बनाएपछि देउवालाई दबाब दिन असन्तुष्ट पक्ष आन्तरिक छलफलमा जुटेको छ। सोमबारकै बैठकमा केही महत्वपूर्ण निर्णय गर्ने तयारी भएको थियो। तर सिटौला सोमबारको बैठकमा सहभागी भएर सहमतिका लागि पर्खिन अनुरोध गरेका थिए। सिटौलाले सोमबार पनि देउवासँग छलफल गरेका थिए।

गत बिहीबार आगामी महाधिवेशनको कार्यतालिका नल्याउने संस्थापन पक्षले अडान लिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक बहिष्कार गरेको थियो। पौडेल समूहको बहिष्कारबीच बसेको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग थप, भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दल गठनलगायत विभिन्न ९ एजेन्डा पेस गरेका थिए।

गएको बिहीबारको बैठकमा एजेन्डा पेस गरी सभापति देउवाले पौडेल समूहलाई सहमतिमा ल्याएर सर्वसम्मत रूपमा पारित गराउने प्रयास जारी राखे पनि ठोस सहमति भने जुटेको छैन। पौडेल समूह जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस गर्नुपर्ने अडानमा छ। पौडेल समूहले संस्थापन पक्षसँग वार्ताका लागि गठन गरेको कार्यदल र उपसभापति विमलेन्द्र निधिबीच मंगलबार बेलुकी भएको छलफल सकारात्मक भएको बताइए पनि बैठक बस्न सकेको छैन।