एजेन्सी। फिलिपिन्सकी ११ वर्षकी एथलिटको सफलता आजकाल सोसल मिडियामा भाइरल भइरहेको छ। उनले जुत्ता नलगाइकनै खुट्टामा ब्यान्डेज बाँधेर स्वर्ण पदक जितिन्।
वास्तवमा, इलोइलो प्रान्तको स्थानीय स्कूलमा अन्तर विद्यालय एथलिट्स मिटको आयोजना गरिएको थियो। यसमा ११ वर्षकी रिया बुलोसले जुत्ता नलगाइकनै स्कूलको ४ सय मिटर, ८ सय मिटर र १५ सय मिटरको दौडमा भाग लिइन्। यी तीनै खेलमा उनले स्वर्ण पदक जितेर सबैलाई अचम्मित पारिदिइन्।
रियाको यो सफलतालाई इलोइलो स्पोर्टस् काउन्सिल मीटका कोच प्रेडिरिक बी वेलेनजुएलाले सोसल मिडियामा सेयर गरे। पोस्टमा रियाले जुत्ता लगाएकी छैनन्। उनले जुत्ताको साटो खुट्टामा ब्यान्डेज बाँधिरहेको देख्न सकिन्छ। कोचका अनुसार उनीसँग जुत्ता थिएन। ब्यान्डेजमा नाइकी लेखिएको थियो।
कोच प्रेडिरिक बी वेलेनजुएलाको पोष्ट भाइरल भएपछि सयौं प्रयोगकर्ताले रियाका लागि नयाँ जुत्ताको प्रस्ताव दिए। एक प्रयोगकर्ताले फोटो सेयर गर्दै बालिकाको मद्दतको लागि नाइकीलाई नै अग्रसर हुन आह्वान गरेका छन्। त्यसपछि एक बास्केटबल स्टोरका मालिकले ट्वीटर प्रयोगकर्तासँग एथलिटको नम्बर मागे र रिया बुलोससम्म मद्दत पुर्याए।
रियोका तस्बिर ट्वीटर र इन्स्टाग्रामसमेत अन्य सोसल मिडियो प्लेटफर्ममा पनि हज्जारौं पटक सेयर भएको छ जसमा प्रयोगकर्ताले रियाको साहसको तारिफ गरेका छन्।