काठमाडौं, २ पौष। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको चौथो बैठक चौथो दिन बुधबार पनि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको विधान संशोधन प्रस्तावमाथि छलफल जारी रह्यो। पार्टीका अध्यक्ष प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको बैठकमा बुधबार अध्यक्ष केपी शर्मा ओली र प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि बुधबार १२ स्थायी कमिटी सदस्य र आमन्त्रित सदस्यले विचार राख्ने क्रम जारी रहेको हो।
नेकपाको स्थायी कमिटीको बैठक एक वर्षपछि गत मङ्सिर २९ गतेदेखि शुरु भएको हो। उनीहरुले प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सही नै रहेको धारणा राख्दै परिमार्जन र सुधारका लागि आ-आफ्ना थप सुझावसहित धारणा राखे। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बुधबारको बैठकमा मातृका यादव, वर्षमान पुन, लीलामणि पोखरेल, प्रदीपकुमार ज्ञवाली, गिरिराजमणि पोखरेल, रघुजी पन्त, गोकर्ण विष्ट, हरिबोल गजुरेल, पृथ्वीसुब्बा गुरुङ, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल र डा. पुष्पराज कँडेलले आफ्ना विचार राखेका थिए।
उनीहरुले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भए बमोजिम पार्टीलाई व्यवस्थित र सङ्गठनलाई अझ सुदृढीकरण गर्ने, विचार र आचरण सुधार गर्नुपर्ने, पार्टीका आगामी कार्ययोजनालाई मूर्त बनाई कार्यान्वयन गर्नुपर्ने, सरकारका कामलाई प्रभावकारी बनाउनुपर्ने जस्ता विषयमा जोड दिएका थिए।
सदस्यहरुले बोलिसकेपछि अध्यक्ष र वरिष्ठ नेताहरुले जवाफ दिनेछन्। बैठकका लागि राजनीतिक प्रतिवेदन र विधान संशोधनका साथै नेपाल-भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ।
विधान संशोधन प्रस्तावमा पार्टीको तत्कालीन कार्यनीति समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने शब्दावली प्रस्तावनामा थपिएको छ भने उपाध्यक्ष पद सिर्जना गरी सो पदमा नेता वामदेव गौतमलाई जिम्मेवारी दिने सचिवालयको प्रस्ताव छ। स्थायी समितिको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्नेछ। रासस