काठमाडौं। बुधबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको दुई बुँदे सहमतिले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको छ। राष्ट्रिय सभामा रिक्त हुने चार सीटमा समाजवादी पार्टीले नेकपासँग तालमेल गर्ने तयारी गरिरहेको थियो।
त्यसका लागि समाजवादीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एकचरण कुराकानी पनि गरिसकेका थिए। अध्यक्ष प्रचण्डले राष्ट्रसभामा तालेमल गर्ने आवश्वासन पनि दिएका थिए। प्रचण्डले ‘त्यसका लागि पछि छलफल गरौंला’ उनीहरुलाई उनले भनेका थिए। प्रचण्डसँग छलफल गरेर उपेन्द्र यादव बंगलादेशको भ्रमणमा निस्के।
समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारबाट हट्न दवाव दिएपछि अर्का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभामा हिसिला यमीलाई सदस्य बनाउने वचन दिएका थिए। पार्टीलाई सरकारबाट बाहिरिने दवाव नदिनुस् भन्दै हिसिला यमीलाई राष्ट्रियसभाका सदस्य बनाउने आफूले प्रयास गर्ने पनि अध्यक्ष भट्टराईलाई वचन दिएका थिए।
सोही आधारमा दुवैजना अध्यक्ष प्रचण्डलाई भेटेर राष्ट्रियसभामा सिटको तालमेल गर्ने कुराकानी गरेका थिए। तर, नेकपा र राजपा नेपालको यो सहमतिले अब हिसिला यमीलाई राष्ट्रियसभाको सदस्य बनाउने सपना चकनाचुर भएको छ। उपचुनावमा राजपा नेपालले समाजवादी पार्टीसँग तालमेल गर्न आग्रह गरेको थियो। तर, सो पार्टीले कुनै वास्ता गरेन।
‘समाजवादी पार्टीले पार्टी एकीकरणको कुरा गरे पनि व्यवहारमा नदेखाएको गुनासो राजपा नेपालका नेताहरुको रहेको छ। त्यही भएर राष्ट्रियसभाको निर्वाचनमा समाजवादी पार्टीको बाटो नपर्खेर नेकपासँग तालमेलका लागि हात बढाएको ती दलका नेताहरु बताउँछन्’ रातोपाटीले लेखेको छ।
नेकपा र राजपाको सहकार्य यतिमा मात्र रोकिने छैन। प्रदेश २ को सरकार पनि मिलेर बनाउने आन्तरिक सहमति गरेको छ। राजपा नेपालका एकजना महासचिवले भने, ‘फागुनसम्ममा नेकपा र राजपा नेपालको संयुक्त सरकार बन्छ।’
संघीय सरकारमा पनि कतै न कतै राजपा नेपालको सहभागिता हुन्छ भने उता प्रदेश २ मा अविश्वासका प्रस्ताव ल्याएर समाजवादी पार्टीका मुख्यमन्त्रीलाई हटाएर नेकपा र राजपा नेपालमध्येबाट मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको स्रोतले जनाएको छ।