रुकुम, ३ पुष। कर्णाली प्रदेशको रूकुम पश्चिममा पर्ने आठविसकोट नगरपालिकाका निमित्त प्रमूख प्रशासकीय अधिकृत रामबहादुर केसी र सूचना तथा सञ्चार प्रविधि अधिकृत गणेश चन्दमाथि कुटपिट भएको छ। कार्यालयको काम सकेर डेरामा फर्किने क्रममा बुधबार साँझ ६ बजे वडा नम्बर ३ का वडाध्यक्ष केशरमान बिकका भाइ गोपाल बिकको समूहले केसी र चन्दमाथि लुकेर कुटपीट गरेको थियो।
पहिलादेखि नै वडाध्यक्ष दाइको आडमा वडाका योजनामा हिनामिना गर्ने गरेको चन्दले बताए। गोपालको समूहको आक्रमणमा परेका केसीलाई पाँच टाँका लगाइएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुसिकोटमा राखिएको छ।
कुटपिटको योजना बनाएको आरोपमा प्रहरीले बुधबार राति नै वडाध्यक्ष केशरमानलाई पक्राउ गरेको छ। उनीमाथि ज्यानमुद्दामा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रूकुम(पश्चिमका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए। उनका भाइ गोपाल भने फरार छन्।
केशरमान तत्कालीन माओवादी केन्द्रबाट विजयी भएका थिए। वडाध्यक्ष र उनका भाइविरूद्ध आजै प्रहरीमा जाहेरी दिने चन्दले बताए। कर्मचारी कुटिएपछि सुरक्षाको माग गर्दै कर्मचारीले आजदेखि नगरपालिकाको काम ठप्प पारेका छन्।