काठमाडौं, ३ पुष । संसद सचिवालयमा कार्यरत कर्मचारीलाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामूख कृष्णबहादुर महराको मुद्दा उच्च अदालतमा सुनुवाइ हुँदै छ। उच्च अदालतका मूख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासमा पेसी रहेको छ।
यसअघि उच्चले जिल्ला अदालतको आदेश मगाउने निर्णय गरेको थियो। आजको सुनुवाइमा उच्चले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गर्ने वा बदर गर्ने निर्णय गर्ने छ। उच्चले जिल्ला अदालतको फैसला उल्ट्यायो भने उनी थुनामुक्त हुने छन्। उच्चले जिल्लाकै आदेश सदर गरेमा उनी थुनामै रहनुपर्ने हुन्छ।
उच्चको उक्त आदेशविरुद्ध महरा सर्वोच्च भने जान पाउने छन्। त्यस्तै जिल्ला अदालतमा पनि उनको बकपत्र चलिरहेको छ। सोमबारदेखि जिल्ला अदालत काठमाडौंमा बकपत्रका लागि उपस्थित गराएको थियो।
न्यायाधीश अम्बिरराज पौडेलको इजलासमा महराको बकपत्र भइरहेको छ। जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा उनलाई मंसिर ६ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्ला अदालतको आदेशले उनी डिल्लीबजार कारागारमा बसिरहेका छन्।
संसद सचिवालयकी कर्मचारीलाई उनको कोठामा पुगेर बलात्कार गर्ने प्रयास गरेको आरोपमा महराविरुद्ध मुद्दा दायर भएको थियो। सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका छन्।
उनी जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन पनि पुगेका थिए। उच्चले जिल्लाको आदेश मगाउनेबाहेक अर्को सुनुवाइ गरेको छैन। तत्कालीन अवस्थामा प्रमाणहरू प्राप्त भएको भन्दै अदालतले उनलाई थुनामा पठाएको थियो।