काठमाडौं, ३ पुस। समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) बीचको सहमतिलाई लिएर सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रतिक्रिया व्यक्त गरेका छन्।
आज सामाजिक सञ्जाल ट्वीटरमार्फत् डा. भट्टराईले नाम नलिइकन नेकपालाई मालिक र राजपालाई दासको संकेत दिएका हुन्। उनले दासहरुले मालिकलाई रिझाएर जुठोपुरो चाट्ने प्रवृत्तिले दासहरुको मुक्ति नहुने उनको भनाइ छ राजपा र समाजवादी पार्टीबीच एकताको प्रक्रिया चलिरहेकै समयमा सत्ता गठबन्धनमा रहेको समाजवादी पार्टीसँग छलफल नै नगरी सत्ताको नेतृत्व गरेको नेकपाले बुधबार राष्ट्रिय सभामा रहेका प्रदेश २ का चार सिटमा दुई/दुई लिने गरी सहमति भएपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नेकपाका नेताहरुलाई नयाँ मालिकको संज्ञा दिँदै मालिकहरु फुटाउ र राज गरको नीतिमा खप्पिस रहेको बताउँदै नयाँ मालिकहरु झनै धूर्त रहेको जनाएका छन्।
अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘जबसम्म दासहरूमा मालिकलाई रिझाएर जुठोपुरो चाट्ने लोभ–दृष्टिदोष रहिरहन्छ वा अर्को दासभन्दा आफूलाई श्रेष्ठ ठान्ने भ्रम रहिरहन्छ, तबसम्म दासहरूको पूर्ण मुक्ति हुन्न’, ‘फुटाउ र राज गरको नीतिमा मालिकहरू खप्पिस छन्। अहिलेका नयाँ मालिकहरू झन धूर्त छन्। खाँचो छ नयाँ स्पार्टाकसको। सबैलाई चेतना भया।’
नेकपा र राजपाबीचको सहमतिलाई लिएर समाजवादी पार्टीले अहिलेसम्म पार्टीको आधिकारिक धारणा भने सार्वजनिक गरेको छैन। डा. भट्टराईले पछिल्लो समय सामाजिक सञ्जालमा कडा प्रतिक्रिया लेख्दै आएका छन्।