विप्लवको एकीकृत जनक्रान्तिको दस्तावेजमा के छ ? (दस्तावेज)

Netra bikram chand Biplav
लाेकपाटी न्यूज

काठमाडौं। दश वर्षे जनयुद्धको अन्त्यको घोषणा गर्दै तात्कालीन नेकपा (माओवादी) ले शान्तिपूर्ण क्रान्तिको बाटो लिएपछि नेपाली कम्युनिष्ट आन्दोलनमा मुलतः २ धार देखा परेका छन्। त्यसमध्ये शान्तिपूर्ण राजनीतिक रुपान्तरणको धारामा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ, त्यसैगरि हिंसात्मक क्रान्तिद्वारा सत्ता कब्जाको धारामा छ विप्लव नेतृत्वको नेकपा।

जनयुद्धलाई निरन्तरता दिने उद्घोष गरेका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरु अबको कार्यदिशा एकीकृत जनक्रान्तिको सिद्धान्त भएकोमा जोड दिँदै आएका छन्। के हो विप्लवले अघि सारेको एकीकृत जनक्रान्तिको सिद्धान्त ? यसबारे यस्तो छ विद्रोही नेकपाको दस्तावेज।

क्रान्तिकारी कार्यदिशासँग अन्तरसम्बन्धित विषय

क्रान्तिकारी कार्यदिशा निर्माणबारे हामीले निकै धेरै र गहिरो बहस गरिरहेका छौँ। हामीलाई के कुरा स्पष्ट भइसकेको छ भने सामन्ती तथा पूँजीवादी व्यवस्थालाई ध्वंश गरेर जनताको नयाँ जनवादी, वैज्ञानिक समाजवादी राज्यमा पुग्न सामान्यतः दुईवटा कार्यदिशा प्रयोग भएका छन्। रुसमा लेनिनको नेतृत्वमा सम्पन्न जनविद्रोहको कार्यदिशा र अर्को चीनमा माओत्सेतुङको नेतृत्वमा प्रयोग गरिएको दीर्घकालीन युद्धको कार्यदिशा। दुई फरक विशेषतामा गरिएका क्रान्तिका कारण यी कार्यदिशाहरु बढी चर्चित भए पनि फिडेलको नेतृत्वमा क्युवामा भएको क्रान्ति, भियतनाम, कोरियामा भएका क्रान्ति पनि आफ्नो ठाउँमा निकै महत्वका छन्। मार्क्स, लेनिन, माओलगायतका विचारकहरुले पूँजीवादी, सामन्तवादी राज्यसत्तालाई निषेध गर्न अगाडि सारेका धारणाबाट अध्ययन गर्दा क्रान्तिकारी कार्यदिशा निर्माणमा निम्न विषयहरु निकै महत्वका रहेका छन्।

(क) क्रान्तिकारी कार्यदिशा र बल प्रयोग

पूँजीवादी, अर्धसामन्तवादी, दलाल पूँजीवादी साज्यसत्तालाई पल्टाउन र त्यसको स्थानमा नयाँ जनवादी, वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्दा प्रयोग गरिने कार्यदिशाको मुख्य चरित्र बल प्रयोगसँग जोडिएको छ। मार्क्स, लेनिन, माओ, होचि मिन्ह सबैले यो मान्यतालाई मुख्य बनाएर अगाडि सार्नुभएको छ। १ सय ६६ वर्षको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा यसको विकल्प देखिएको छैन। बल प्रयोग एक प्रकारको सार्वभौमिक विशेषता बन्न गएको छ। बल प्रयोगको सन्दर्भमा कथित प्रजातन्त्रवादी भनिनेहरुबाट कम्युनिष्टहरुको घनघोर आलोचना र विरोध भए पनि सच्चाई के छ भने राज्यसत्ता परिवर्तनमा बल प्रयोग सिद्धान्त कुनै कम्युनिष्ट क्रान्तिको हकमा मात्र सही सावित भएको छैन। अन्तर–साम्राज्यवादी तथा अन्तर–प्रतिक्रियावादी अन्तरविरोधको समाधान समेतमा त्यो त्यतिकै अनिवार्य बनेको देखिन्छ। अफसोचको विषय यो छ कि पूँजीवादी शक्तिहरुले समेत स्वीकारेको र लागू गरिरहेको यो यथार्थलाई कैयौँ कम्युनिष्ट पार्टीहरुले अव्यवहारिक र प्रयोग हुन नसक्ने मिति सकिएको औषधि भन्ने गरेका छन्। हामीले यस्तो गलत दृष्टिकोणलाई व्यवस्थित प्रकारले खण्डन गर्न जरुरी छ।

(ख) कार्यदिशामा विद्रोह र जनयुद्धको प्रयोग

क्रान्तिकारी कम्युनिष्ट आन्दोलनमा दुईवटा कार्यदिशाको प्रयोग विशेष महत्वका छन्। लेनिनले रुसमा प्रयोग गरेको सशस्त्र जनविद्रोहको कार्यदिशा र माओत्सेतुङलको नेतृत्वमा चीनमा प्रयोग भएको दीर्घकालीन जनयुद्धको कार्यदिशा। यी बाहेक भियतनाम, क्युबामा भएको क्रान्तिको अनुभव पनि महत्वपूर्ण देखिन्छ। क्रान्तिकारीहरुले प्रयोग गरेका यी कार्यदिशाबारे जुन खालका बुझाइहरु देखिन्छन्, तिनको सही विश्लेषण आवश्यक देखिन्छ :–

(अ) विद्रोहको सन्दर्भ

कार्यदिशामा विद्रोह भनेपछि पूँजीवादी साम्राज्यवादी या विकसित देशमा मात्र प्रयोग हुने शब्दावली या नीति हो भन्ने एकथरिमा पाइन्छ। कम्युनिष्टहरुको चलनचल्तीमा यस्तो बुझाई स्वाभाविक भए पनि यो कुरा सही होइन। किनकि विद्रोहको मान्यता या शब्दावलीको प्रयोग कम्युनिष्टहरु या मार्क्स, लेनिनले नै पहिलोपटक अनुुसन्धान गरेर ल्याएको होइन। विद्रोह शब्दावलीको प्रयोग तीन हजार वर्ष अगाडिको दास युगमा पनि भएको छ। रोमको दास विद्रोह त चर्चित नै छ। सामन्तवादी युगमा युरोपेली देशहरुमा प्रयोग भएका विद्रोह, अमेरिकामा प्रयोग भएको राष्ट्रिय मुक्तिको विद्रोह, सामन्तवादी कालमा चीनमा भएको ताइपेइ विद्रोह, बक्सर विद्रोह, भारतको सिपाही विद्रोह, नक्सलवादी विदोह, भारतको तेलङ्गना किसान विद्रोह, नेपालमै भीमदत्तको किसान विद्रोह, मालेको झापा विद्रोह, जुगेडी किसान विद्रोह जस्ता थुप्रै दृष्टान्तहरु दिन सकिन्छ।

यसको अर्थ के हो भने सशस्त्र विद्रोहजस्ता केवल पूँजीवादी देशमा मजदुरले गर्ने क्रान्तिको चरित्र मात्र भन्ने हुँदैन। बरु यसको अर्थ यो हुन्छ कि राज्यको थिचोमिचो, दमन, अत्याचार विरुद्धको सङ्घर्षको एउटा रुप हो, जसलाई विद्रोह भनेर बुझिन्छ। यसो भनेर यहाँ के लेनिनले विकास गरेको सर्वहारावर्गीय विद्रोहलाई सामान्यीकरण गर्न मिल्छ या गर्न खोजेको हो त ? यो किमार्थ होइन। यसको अर्थ त यो हो कि विद्रोहबारे भ्रम नरहोस् भन्ने मात्र हो। बरु बुझाउनुपर्छ कि विद्रोह सत्ताका विरुद्ध जनताले गर्ने सङ्घर्षको एक रुप हो। तर यसको प्रयोग कम्युनिष्ट क्रान्तिकारीहरुले गर्दा पूँजीवादी देशहरुमा गरेको हुनाले सामान्यतः पूँजीवादी देशमा सहरबाट मजदुरले गर्ने क्रान्ति भनेर बुझिन्छ, जो आफ्नो सन्दर्भमा सही पनि हो।

(आ) जनयुद्धको सन्दर्भ

क्रान्तिकारी कार्यदिशामा जनयुद्ध अर्धसामन्ती, अर्धऔपनिवेशिक या अविकसित देशमा लागू गर्ने या प्रयोग हुने शब्दावली हो भन्ने बुझाई बनेको छ। सामान्यतः यो सही पनि हो, किनकि माओले यो शब्दावलीको प्रयोग गर्दा चीनको सन्दर्भ उठाउँदै चीनमा पुजीवादको विकास भई नसकेको या मजदुरवर्गीय शक्ति निर्णायक नरहेकोले चीनको क्रान्ति विद्रोह या सहरबाट कब्जा गर्ने खालको हुने नभई दीर्घकालीन युद्धबाट हुने धारणा अगाडि सारेका थिए। जनयुद्ध यस अर्थमा प्रयोग हुन आयो। तर, यहाँ के चाहिँ सही होइन भने जनयुद्ध भनेको पछ्यौटे देशमा हुने क्रान्तिलाई व्यक्त गर्ने शब्द मात्र हो। माओले अझै स्पष्ट गर्दै भनेका छन् कि जनयुद्ध चीनको विशेषतामा दीर्घकालीन भए पनि जनयुद्ध चीनको मात्र होइन, लेनिनले रुसमा गर्नुभएको विद्रोह पनि जनयुद्ध नै हो। अर्थात्, माओको भनाइमा जनताले लड्ने युद्ध नै जनयुद्ध हो। यद्यपि यो शब्दावलीको प्रयोग क्रान्तिमा भियतनाम, पेरु, फिलिपिन्स, भारत, नेपाल, टर्की आदिमा बढी भएको छ। यहाँ बुझ्नुपर्ने के देखिन्छ भने व्यापक अर्थमा जनयुद्ध शब्दको प्रयोग सिद्धान्ततः जनताले लड्ने युद्धको अर्थमा उपयोग गर्न सकिन्छ।

(ग) जनविद्रोह, जनयुद्ध र एकीकृत जनक्रान्तिको सम्बन्ध

हामी दुई कार्यदिशाको बहसमा शान्तिकालमा प्रवेश गरेपछि पुगेका हौँ। यद्यपि, १० वर्षको जनयुद्धमा पनि कार्यदिशाको बहस चलिरहेको थियो। पार्टीमा सर्वसहमति थियो कि नेपाली क्रान्तिलाई सफलतामा पु¥याउनका लागि जनयुद्धको विकास आवश्यक छ। दोस्रो राष्ट्रिय सम्मेलनमा गरिएको फ्युजनको संश्लेषण यसैको अंश थियो। फ्युजनको प्रयोग व्यवस्थित नहुँदै प्रचण्डहरुको पछि फर्काइले फ्युजन कनफ्युजनमा बदलिन पुग्यो। तथापि कार्यदिशाको बहस क्रान्तिकारी माझ चलिरह्यो। नेपाली समाजका विशेषताहरुको विश्लेषण गर्दे हामीले नेपाली क्रान्तिको कार्यदिशालाई ‘एकीकृत जनक्रान्ति’ भनेका छौँ। आज यसको बहस पनि जोडतोडले चरिहेको छ। यो स्वाभाविक हो कि के शब्दावलीको प्रयोगले नेपाली क्रान्तिलाई वस्तुवादी ढङ्गले व्यक्त गर्न सक्ला ? यो कुनै सामान्य बहसको कुरा मात्रै पनि भएन, एक हदसम्म यो विश्व कम्युनिष्ट आन्दोलनकै बहसको विषय पनि हो। माओवादी आन्दोलनमा अहिले कार्यदिशाबारे मूलतः तीनवटा धार देखिएका छन्– प्रचण्ड–बाबुरामहरुले लिएको लोकतान्त्रिक गणतन्त्रको शान्तिपूर्ण संसदीय धार, किरण–बादलहरुले लिएको जनयुद्धको जगमा जनविद्रोहको यथास्थितिवादी पुच्छरवादी धार र हामीले लिएको एकीकृत जनक्रान्तिको क्रान्तिकारी धार।

प्रचण्ड–बाबुरामहरुको विश्लेषणमा आजको अन्तर्राष्ट्रिय, राष्ट्रिय परिस्थितिमा बल प्रयोगबाट राज्यसत्ता परिवर्तन गर्ने कार्यदिशा वस्तुवादी हुँदैन। जनयुद्धबाट जति परिवर्तन भयो, यसैलाई संस्थागत गर्दै शान्तिपूर्ण प्रतिस्पर्धामा रहनु पर्दछ। यद्यपि कहिलेकाहीँ सिद्धान्तको तहमा बल प्रयोगको आवश्यकता पनि स्वीकार गर्दछन्। उता किरण, बादलहरुले क्रान्तिमा बल प्रयोगको कुरा त गर्दछन्। तर, यो स्थितिमा क्रान्ति सम्भव छैन भन्दै घुमेर संसदीय व्यवस्थाकै फेरो समात्न पुगेका छन्। उनीहरुभित्र अनेकथररि प्रवृतिहरु घोलिएर बसेका छन्। उनीहरुमा एक प्रकारको पुच्छरवाद हावी देखिन्छ।

हामीले नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्तिको कार्यदिशा भनिसकेपछि सबैभन्दा आक्रामक, असहिष्णु र पूर्वाग्रही रुपमा किरण समूहका कमरेडहरु ओर्लिएका छन्। त्यसमा पनि किरण निकै रुढिवादी देखिएका छन्। उनको भनाइ के छ भने कार्यदिशाको कुरा गर्दा कि लेनिनले भनेको जनविद्रोह भन्नुपर्दछ कि त माओले भनेको जनयुद्ध भन्नुपर्दछ। यी दुईभन्दा बाहिर जान खोज्नु भनेको मालेमाकै विरुद्ध जानु हुन्छ या विचलन हुन्छ कि त माओ, लेनिनभन्दा जान्ने पल्टेको हुन्छ। हामीले भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा के कसैले भनेजस्तै मार्क्स, लेनिन, माओभन्दा बाहिर गएको हुन्छ ? या के जनविद्रोह र जनयुद्धलाई निषेध गरेको हुन्छ ? या नेपाली विशेषतामा मालेमाको प्रयोग हुन्छ ?

यसर्थ, हामीले भनेको एकीकृत जनक्रान्तिको कार्यदिशा न मालेमाको निषेध हो, न जनविद्रोह र जनयुद्धको नै निषेध हो, न त यो माओहरुभन्दा जान्ने देखिनका लािग नै अगाडि सारिएको हो। यो नेपाली समाज र राजनीतिक विशेषताहरुलाई आत्मसातीकरणसहित मालेमाको सिर्जनात्मक प्रयोग र समृद्धि हो। अर्को अर्थमा, एकीकृत जनक्रान्ति जनविद्रोह र जनयुद्धको निरन्तरता र उत्कर्षसहित विकास गर्न खोजिएको कार्यदिशाको नेपाली आयाम हो, जसले मालेमालाई नेपाली विशेषतामा प्रयोग गर्दछ।

एकीकृत जनक्रान्ति

हामीले नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्तिको कार्यदिशाको रुपमा संश्लेषण गरेका छौँ। पार्टीभित्र र बाहिर भिन्न समयमा चलेका बहसहरुका बीचबाट मालेमाको नेपाली प्रयोगको अर्थमा एकीकृत जनक्रान्ति संश्लेषण गर्नु उपयुक्त हुने निष्कर्ष निकाल्यौँ। एकीकृत जनक्रान्तिको पछाडि धेरैको जिज्ञासा र प्रश्न छन् कि के त्यस्ता आधारहरु छन्, जसले नेपाली क्रान्तिको कार्यदिशालाई एकीकृत जनक्रान्तिको रुपमा प्रमाणित गर्न सकून्। एकीकृत जनक्रान्ति नेपाली क्रान्तिका सन्दर्भमा आवश्यक र वस्तुवादी छ भन्नेमा हामीले दुईवटा विषयहरुलाई अगाडि सारेका छौँ। पहिलो, २१ औँ शदीमा विकास भएको विश्व राजनीतिका विशेषताहरु र दोस्रो, नेपाली अर्थ–राजनीतिका मौलिक विशेषताहरु। विश्व राजनीतिक विशेषताहरुबाट विश्लेषण गर्दा के देखिन्छ भने जनविद्रोहको कार्यदिशा प्रयोग गरेको रुस र जनयुद्धको कार्यदिशा प्रयोग गरेको चीनको अवस्था आज विश्वमा छैन।

विश्व रुसभन्दा १०० वर्ष अगाडि आएको छ भने चीनभन्दा ६५ वर्ष अगाडि आएको छ। १०० वर्ष अगाडिको पूँजीवाद जुन रुपमा थियो, आज त्यस्तै छैन। विश्व साम्राज्यवाद र पूँजीवादका कैयौँ नयाँ विशेषताहरु थपिएका छन्। अर्कोतिर नेपाली अर्थ–राजनीतिक, सामाजिक विशेषताहरु पनि रुस या चीनसँग मिल्ने खालका छैनन्। नेपालका विशेषताहरु नयाँ खालका छन्। यो स्थितिमा रुस या चीन जस्तो राजनीतिक कार्यदिशाको यान्त्रिक नक्कलबाट क्रान्ति सम्भव देखिँदैन। अर्कोतिर चीन, रुससहित क्रान्तिका अनुभवबाट सिक्ने प्रश्नमा अरुचिबाट समेत बच्न आवश्यक छ।

नेत्रविक्रिम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको २०७१ पुस २३–२६ सम्म दाङको तुलसीपुरमा सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनद्वारा पारित राजनीतिक प्रतिवेदनको अंश साभार।)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्