वि.वि. श्रेष्ठ। व्यास नगरपालिकाको वडा नं.–५ स्थित पाटनमा ३ करोड को बजेटमा सुविधासम्पन्न पार्क बन्ने भएको छ। संघीय सरकारको ०७६।०७७ को वजेट बिनियोजनबाट उक्त स्थानमा सुविधासम्पन्न पार्क बन्ने भएको हो।
यही आर्थिक वर्षसम्म सम्पन्न गर्ने लक्ष्यका साथ सम्पन्न भएको उक्त पार्क स्थलमा बास्केटबल कोर्ट, मत्स्य कन्यासहितको पोखरी, सामुदायिक भवन, सुविधसम्पन्न पाकिङ्ग, अतिथि गृह भवन, फूलको बगंैचा, पिकनिक स्पटसमेत बन्ने वडा नं–५ का वडा अध्यक्ष एवं व्यास नगरपालिकाका प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए। धार्मिक तथा पर्यटकीय महत्व बोकेको उक्त स्थानमा परासरको गुफा लगायत व्यासको जन्मस्थल समेत रहेको हुँदा उक्त पार्क निर्माणसँगै उक्त क्षेको महत्व झन बढ्ने विश्वास गरिएको छ।
ठूलो लक्ष्यका साथ मादी र सेती नदीको संगमस्थलमा निर्माण हुन लागेको पार्कले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय गन्तव्यमा ठूलो टेवा पुग्ने स्थानीयको विश्वास छ। तनहुँ जिल्लाको सदरमुकाम दमौली बजारबाट करीब १ किलोमिटर दक्षिणमा रहेको उक्त स्थानमा रहेको व्यास तथा परासर गुफा अर्को आर्कषण भएको हुँदा यसले पर्यटकीय गन्तव्य बन्नेमा वडाध्यक्ष श्रेष्ठ विश्वस्त छन्।
परापूर्व कालदेखि नै संगमघाट निर्माणस्थलको समीपमा नै सुविधासम्पन्न संरचना निर्माण र सेती र मादी नदीको संगमस्थलले धार्मिक आस्थावान् व्यक्तिको मुक्तिपश्चात् स्वर्गमा लिन हुने विश्वास समेत रहेको छ। उत्तरी र दक्षिणी संगमस्थलमा शव दहन गर्दा मोक्ष प्राप्त हुने जनविश्वास रहेको हुँदा पनि उक्त स्थानका थप महत्व रहेको छ।
व्यास नगरपालिका र गण्डकी प्रदेशको यही आर्थिक वर्षको संयुक्त बजेटबाट नदीको संगमस्थल वरिपरि ग्याविन गर्ने, सोही स्थानमा स्नान गृह समेत बनिरहेको छ। धार्मिक रुपमा चर्चित रहेको मादी तथा परासर गुफा तथा शव दह घाटमा बन्न लागेको संरचनाले पर्यटकलाई समेत थप शिक्षा, आनन्द र धर्म मिल्ने विश्वास गरिएको छ।
करीब ३२ रोपनी जग्गामा निर्माण हुन लागेको पार्कमा खेल मैदानका साथै परासर आश्रममा शिवमन्दिर समेत निर्माण भइरहेको छ। व्यासको तपोभूमिमा निर्माण भएको भौतिक संरचनाले धार्मिक आस्था राख्नेहरुको त्यो भीडलाई थप सेवा पुग्ने विश्वास गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए। उक्त योजनाको हालसम्म करीब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ।