काठमाडौं। संघीय संसदको हिउँदे अदिवेशन आज (शुक्रबार) देखि सुरु हुँदैछ। शुक्रबार दिउँसो २ः०० बजे संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन बस्न लागेको हो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाएकी छन्।
हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ। आजको बैठकको प्रमुख कार्यसूची प्रतिनिधि सभाको सभामुख चयन रहेको संसद सचिवालयले जनाएको छ। असोज १४ गते राजीनामा दिए पनि नयाँ सभामुख चयन भइनसकेकाले सभामुखबिनै अधिवेशन सुरु गर्न लागिएको हो।
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा अहिले डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा छन्। महराले १५ असोजमा पदबाट राजीनामा दिएका थिए। उनको सांसद् पदसमेत निलम्बनको अवस्थामा छ।
शुक्रबारको पहिलो बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङ्फेले गर्ने सम्भावना छ। तर, यसको टुंगो भने लागिसकेको छैन। उनले आजै १ बजे कार्य व्यवस्था समितिको बैठक डाकेकी छिन्। सभामुखले गर्ने काम उपसभामुखले गरेको भन्दै तुम्वाहाङ्फेको आलोचना भइरहेको बेला पुनः तुम्वाहाङ्फेले कार्य व्यवस्थाको बैठक डाकेकी हुन्। राष्ट्रपतिको पत्र पढेर सुनाउने, काँग्रेस सांसद रामेश्वर ढुंगेलको शोक प्रस्ताव पारित गर्ने तथा अर्को मिति तय गर्नेलगायत सम्भावित कार्यसूची आउन सक्छ।
सभामुख पद रिक्त रहेको अवस्थामा संसदका सबै काम उपसभामुखले गर्न पाउनुपर्ने माग तुम्बाहाङ्फेले गर्दै आएकी छन्। संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ। सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्नसक्ने संवैधानिक व्यवस्था छ।