रामग्राम, ४ पुस। नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर पक्राउ परेका छन्। २ लाख रुपैयाँ घुस लिएको अभियोगमा वडाध्यक्ष गोपाल दिस्वा मगर पक्राउ परेका हुन्।
सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिसलगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो। अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ।
वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत् सेवाग्राहीबाट घुस उठाएको देखिएको अख्तियारले जनाएको छ।अख्तियारको टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका १८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिइको जनाएको छ।