- थम्मन थापा
बागलुङ। रोजगारीको सिलसिलामा अहिले धेरै युवा विदेशमा छन्। रोजगारी खोजीमा युवाहरू विभिन्न देशहरूमा पुगेका छन्। तर विदेशमा रहेपनि आम नेपालीको मन गाउँघरमै छ। युवाहरू आफ्नो कमाइको केही अंश गाउँ समाजमा लगानी गरिरहेका छन्। कला र गला हुनेहरू विदेशमा रहे पनि नेपाली कला संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेका थुप्रै उदाहरण छन्।
यसै मध्यका एक हस्ती हुन गलकोट नगरपालिका ७ मल्मका कुलवीर थापा। सानैदेखि गाउँमा छँदा उनले सामाजिक अभियानमा लागे। सामाजिक सङ्घ संस्थामा विभिन्न पदमा रहेर सक्रियता पूर्वक भूमिका निर्वाह गरे। देशमा रोजगार हुन नसकेपछि उनी १० वर्ष पहिले जापान प्रवेश गरे। विदेशमा गएपछि उनले गाउँ समाजमा विभिन्न सङ्घ संस्था र मेला महोत्सव अनि कार्यक्रमलाई आर्थिक सहयोग गर्दै आइरहेका छन्।
अहिले उनी आफ्नो रोजगारसँगै साङ्गीतिक क्षेत्रमा पनि प्रवेश गरेका छन्। पछिल्लो समय उनले आफ्ना सृजनाहरू बजारमा ल्याएका छन्। ४/५ वटा गीति एल्बम उनले बजारमा ल्याइसकेका छन्। उनी मोडलिङ क्षेत्रमा पनि उत्तिकै रुचि राख्छन्। केही म्युजिक भिडिओमा उनले अभिनय समेत गरेका छन्। जापानमा हुने विभिन्न कार्यक्रममा उनले आफ्नो साङ्गीतिक प्रस्तुति दिँदै आइरहेका छन्। आफ्नो काम र समयको व्यवस्थापन गरी साङ्गीतिक कार्यक्रममा प्रस्तुत हुने गरेको उनी सुनाउँछन्।
यस पटक छुट्टीमा उनी नेपाल आएका थिए। दुई महिने नेपाल बसाइका क्रममा उनलाई धेरै कार्यक्रमहरूमा निमन्त्रणा गरियो। गलकोट नगरपालिकासँगै तारा खोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका विभिन्न कार्यक्रममा उनले दर्शक श्रोतालाई मज्जाले नचाए। गत मङ्सिरमा सम्पन्न दोस्रो गलकोट घुम्टे महोत्सवमा पनि उनले आफ्नो साङ्गीतिक प्रस्तुति दिए।
छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाएका उनी एक युवा समाजसेवी व्यक्तित्व पनि हुन्। गाउँमा रहँदा समाज सेवामा समर्पित भएर भूमिका निर्वाह गरेका उनले अहिले जापानमा पनि विभिन्न सङ्घ संस्थामा आबद्ध छन्। गलकोट समाज जापान ओसाकाका उनी वरिष्ठ उपाध्यक्ष छन् भने सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखामा पनि उनी उपाध्यक्षको रूपमा कार्यरत छन्।
सामाजिक गतिविधि र सामाजिक जागरण अभियानमा उनी सक्रिय छन्। कर्म थलो विदेशमा रहेर उनी गलकोट नगरपालिका वडा नं ७ का विभिन्न सङ्घ संस्था र गाउँ समाजको विकासको निम्ति सक्दो सहयोग गरिरहेका छन्। ‘गाउँ समाज र देश निर्माण गर्ने जिम्मा युवाहरूको हो। त्यसैले व्यक्तिगत स्वार्थ भन्दा माथि रहेर सामाजिक स्वार्थमा हामी प्रेरित हुन जरुरी छ,’ उनी भन्छन्। सुन्दर समाज, समृद्ध देशको लागि हरेक युवाहरूको सहयोग र साथको आवश्यक छ।