प्रधानमन्त्री ओलीबाट रिट्वीट भएको सोनियाको भिडियोमा के थियो ?

kp-oli-retweet
लाेकपाटी न्यूज

काठमाडौं। भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट रहस्यमय तरिकाले रिट्वीट भयो। प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रि-ट्वीट भएपछि बालुवाटारमा खैलाबैला मच्चियो।

जसले गर्दा नेपालभर सामाजिक सञ्जाल प्रयोगकर्ताबीच यो चासोको मुद्दा बनेको छ। प्रधानमन्त्री ओलीको ट्वीटरबाट सोनिया गान्धीको ट्वीट रिट्वीट भएको कुरा भुटानी पत्रकार तेन्जिङ लामसाङले लेखेका थिए। सोही आधारमा ‘द टेलिग्राफ’ले नेपालका प्रधानमन्त्रीको रिट्वीटको रहस्य भन्दै समाचार नै बनायो। तर यतिन्जेलसम्म प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर दुरुपयोग भएको भन्दै ट्वीट गरेका थिए।

यस विषयमा जब प्रश्न उठ्यो, त्यसपछि रि-ट्वीट ‘अन डु’ गरिएको छ। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘अन्यथा’ भएको भन्दै स्पष्टीकरण दिएका छन्। थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepal को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीबाट भने यसबारे केही प्रतिक्रिया आएको छैन। विवादास्पद नागरिकता कानुनलाई लिएर भारतमा आन्दोलन जारी छ। विभिन्न सहरमा भएका प्रदर्शन दबाउन प्रहरीले बल प्रयोग गर्दा केहीको मृत्यु भइसकेको छ। नेपालले भने आधिकारिकरुपमा भारतको नागरिकता विधेयक र त्यसबाट सिर्जित समस्याबारे कुनै प्रतिक्रिया जनाएको छैन। यही बेला प्रधानमन्त्री केपी ओलीको ट्वीटरबाट रहस्यमय तरिकाले रिट्वीट भएको छ।

के थियो त सोनियाको ट्वीटरमा ? आन्दोलन एक साता भन्दा लम्बिएपछि विपक्षी दल कांग्रेसकी अध्यक्ष सोनियाले शुक्रबार दिउसो ट्वीटरमा भिडियो सन्देश दिएकी थिइन्। भारतका सत्तापक्षका सांसदहरुले विधेयकको बचाउ गरेका छन् भने विपक्षी कांग्रेस, कम्युनिष्ट लगायतका सांसदहरुले विरोध गर्दै आएका छन्।

भिडियो सन्देशमा भनिएको छः
‘लोकतन्त्रमा सरकारका गलत निर्णय र नीतिका विरुद्ध जनताले आवाज उठाउन पाउँछन्। र उनीहरुले चासो देखाउन पाउँछन्। सँगै नागरिकलाई सुन्‍ने र सम्बोधन गर्ने सरकारको जिम्मेवारी हो। तर बिजेपी सरकारले जनताका आवाजको उपेक्षा गरेको छ। साथै उनीहरुको असहमतिलाई बल प्रयोग गरेर दबाउन खोज्दैछ। जुन लोकतन्त्रमा अस्वीकार्य छ।

कांग्रेस पार्टी बिजेपी सरकारो गतिविधिको निन्दा गर्छ। र आन्दोलनमा सहभागी विद्यार्थीप्रति ऐकवद्धता जनाउँछ। बिजेपी सरकारको जनविरोधी नीति र विभेद्कारी एजेन्डाविरुद्ध देशभरका विभिन्न शैक्षिक संस्थामा स्वतस्फुर्त आन्दोलन उठेका छन्। बिजेपी सरकारको बल प्रयोग अस्वीकार्य छ।’

गान्धीले नागरिकता कानुन विभेद्कारी भएको भन्दै असहमति जनाएकी थिइन्। यस्तोमा भारतको आन्दोलनलाई समर्थन गर्दै गान्धीको सन्देश आएको केही घण्टामै प्रधानमन्त्री केपी ओलीको ट्वीटरबाट रहस्यमय तरिकाले रिट्वीट भएको हो।