काठमाडौं, ५ पुस। कान्छीमाया कोजुले काठमाडौं म्याराथनको उपाधि जितेकी छिन्। नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले काठमाडौं म्याराथनमा ह्याट्रिक उपाधि जितेकी हुन्।
शनिबार बिहान भएको १३औं संस्करणको म्याराथनमा कान्छीले निर्धारित दूरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पूरा गर्दै ह्याट्रिक उपाधि जितेकी हुन्। प्रतियोगितामा सरिता बासी ३ घण्टा १९ मिनेट ७ सेकेण्डमा निर्धारित दूरी पार गर्दै दोस्रो भइन्। त्यस्तै निर्धारित दूरी ३ घण्टा ४७ मिनेट ४५ सेकेण्डमा पार गर्दै निर्जला ताम्राकार तेस्रो भइन्।
पुरुषतर्फ विभागीय त्रिभुवन आर्मी क्लबले वर्चस्व जमाएको छ। नरेन्द्र सिंह रावल च्याम्पियन बनेका छन्। दोस्रो र तेस्रो स्थान पनि आर्मीकै खेलाडीले जितेका छन्। नरेन्द्रले निर्धारित दूरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै च्याम्पियन बने।
आर्मीकै वेदबहादुर सुनारले निर्धारित दूरी २ घन्टा ३४ मिनेट २० सेकेन्डमा पूरा गर्दै दोस्रो स्थान हासिल गरे। आर्मीकै ज्ञानप्रसाद भट्टराईले २ घन्टा ३४ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै तेस्रो स्थान हासिल गरे।