काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा उठेका प्रश्नबारे सचिवालयमा छलफल गरेका छन्। स्थायी समिति बैठक रोकेर अध्यक्ष प्रचण्डले सो विषयमा सचिवालयमा छलफल गरेका हुन्।
शनिबार दिउँसो सुरु भएको स्थायी समिति बैठकमा दुवै अध्यक्षका तर्फबाट अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ।
स्थायी समिति बैठक सुरु भएपछि विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेका थिए। महासचिव पौडेलले धारणा राखेलगत्तै केही बेरका लागि स्थायी कमिटी बैठक स्थगित गरी सचिवालयमा छलफल गरेको नेकपाका एक नेताले जानकारी दिए।
‘स्थायी समितिमा दिने जवाफका बारेमा अध्यक्ष प्रचण्डले सचिवालयमा छलफल गर्नुभएको हो’, नेकपाका ती नेताले भने। आइतबार देखि पार्टी कार्यालय धुम्बाराहीमा नेकपा स्थायी समिति बैठक बसिरहेको छ।
यसअघि शुक्रबार प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए। सचिवालयमा छलफल गरेलगत्तै स्थायी कमिटिको बैठक पुनः सुरु भएको छ।