‘नेकपा-राजपा सम्झौताले प्रदेश २ को सरकार ढल्दैन’

Renu_Yadab
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं। संघीय समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवले प्रदेश २ को सरकार परिवर्तन हुने सम्भावना नरहेको दावी गरेकी छन्। जनताले राजपा र समाजवादी पार्टीलाई नै प्रदेश २ को सरकार सञ्चालन गर्ने म्याण्डेट दिएकोले प्रदेश सरकार परिर्वत नहुने जिकिर गरिन्।

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको दुई बुँदे सम्झौताले नेपालको राजनीतिमा हलचल ल्याएको छ। दुई बुँदे सम्झौताले समाजवादी पार्टीलाई ठूलो धक्का लागेको र राजपा नेपाल सत्ताको लाइनमा गएको विश्लेषण भइरहेको छ। नेकपा र राजपाको उक्त सम्झौता पछि प्रदेश २ को सरकार परिवर्तन हुन सक्ने चर्चा समेत सुरु भएको छ।

सोही विषयमा उनले भनेकी छन्, ‘टाढा टाढासम्म यसको सम्भावना छैन। यो हल्ला गराइएको मात्र हो। किनभने जनताले राजपा र समाजवादी पार्टीलाई नै प्रदेश २ को सरकार सञ्चालन गर्ने म्याण्डेट दिएको छ। एक माघले मात्र जाडो कट्दैन भने जस्तै समाजवादी पार्टी वा राजपा कुनै पनि दलले जनताको म्याण्डेट विपरित जान सक्दैन।’

रातोपाटी अनलाइनसँगको अन्तर्वार्तामा उनले नेकपा र राजपाको सम्झौतालाई आफ्नो पार्टीले गम्भीरता पूर्वक नलिएको बताइन्। उनले राजनीतिमा यस्तो भइरहने भएकोले यो कुरा कुनै नौलो नभएको तर्क गरिन्।

उनले भनेकी छन्, ‘समाजवादी पार्टीले गम्भीरतापूर्वक लिएको छैन। राजनीतिमा यस्तो हुन्छ। यो कुनै नौलो कुरा होइन। राजनीतिमा यस्ता थुप्रै मोड आउँछन्। उतार चढाव भइरहन्छ। समाजवादी पार्टीसँग एकीकरणका लागि वार्ता र छलफलहरु चलिरहेको समयमा नेकपासँग तालमेल गर्नुले अलिकति चर्चा पाएको मात्र हो।’

उनले एकीकरणको सन्दर्भमा राजपा नेपालले समाजवादी पार्टीले सरकार छाड्नुपर्ने जोडदिइरहेको बेला आफैँ सत्ताको लाइनमा उभिएकोपछि अब जनतालाई जवाफ दिनुपर्ने अवस्था आएको बताइन्।