काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। नेकपा नेता वर्षमान पुनले आगामी पुस २० गतेका लागि बैठक बोलाइएको जानकारी दिए।
पुस २० देखि केन्द्रीय समिति बैठक डाक्ने निर्णय स्थायी समिति बैठकले गरेको हो। तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय समिति सदस्य छन्।
सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने नेकपाको तयारी छ। केन्द्रीय कमिटीमा यो एजेन्डाले पनि प्रवेश पाउनेछ। तर बैठकका एजेन्डा अहिले नै सार्वजनिक गरिएको छैन।
यसअघि गत वर्ष जेठमा केन्द्रीय समिति बैठक बसेको थियो। स्थायी समिति बैठक पनि एक वर्षपछि नेकपाले गत मंसिर २९ गतेदेखि बोलाएको थियो।
स्थायी समिति बैठकमा सदस्यहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले राखेको विधान संशोधन सम्बन्धी प्रतिवेदनमाथि छलफल गरिराखेका छन्।