काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय संख्या नबढ्ने भएको छ। जारी नेकपा स्थायी समिति बैठकमा केही नेताहरुले समानुपातिक र समावेशी तवरले सचिवालय गठन गरिनु पर्ने प्रस्ताव गरेका थिए।
उनीहरुले छुटेकाहरुलाई समेटिनुपर्ने माग गरेपनि नेतृत्वले सचिवालय संख्या नबढाउने निर्णय गरेको हो। नेकपा स्थायी समिति सदस्य रघुजी पन्तले सचिवालय सदस्य संख्या नबढ्ने निर्णय भएको बताए। स्थायी समिति बैठकमा नेतृहरु पम्फा भुसाल र अष्ठलक्ष्मी शाक्यले सचिवालयमा महिला नसमेटिएको भन्दै संख्या बढाउन खुलेर माग गरेका थिए।
यस्तै सुरुदेखि नै वरिष्ठ नेता माधव कुमार नेपालले पनि सचिवालय संख्या बढाइनुपर्ने आवाज उठाउँदै आएका थिए। नेकपाभित्र सचिवालय सदस्य विस्तार गरेर १९ सदस्य बनाइनुपर्ने आवाज उठेको छ। हाल सचिवालय सदस्य संख्या ९ जना रहेको छ।
यसैबीच आजको बैठकमा अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले सदस्यहरुले उठाएको प्रश्नमाथि जवाफ दिएका छन्। जवाफ दिने क्रममा अझै जारी रहेकाले बैठक आइतबार पनि जारी रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।