काठमाडौं। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले केही दिनभित्रै राजीनामा दिने तयारी भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निर्णयअनुसार, उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिन लागेकी हुन्।
प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु गरेकी उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिने तयारीमा जुटेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए। अधिकारीका अनुसार, उपसभामुख तुम्बाहाङ्फेले बुधबारसम्ममा राजीनामा दिने तयारी भएको छ।
‘अर्को बैठक अगाडि नै राजीनामा दिने तयारी छ। बुधबारभित्रै राजीनामा आउँछ’, अधिकारीले भने। पुस ४ गते उनले संसदको हिउँदे अधिवेशनको अध्यक्षता गरेकी थिइन्। एउटै दलबाट सभामुख र उपसभामुख हुन नमिल्ने वैधानिक व्यवस्था भएकाले सभामुख नेकपा आफैंले राख्न उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा गराइन लागेको हो।
कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका थिए। महराको राजीनामा पछि उपसभामुख तम्बाहाङ्फेले संसदको नेतृत्व गर्दै आएकी थिइन्।