छैठौं संस्करणको मिस कल्चर नेपालको अडिसन सम्पन्न

Ipic
लाेकपाटी न्यूज

पोखरा, ६ पुस । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा विगत ५ वर्षदेखि सञ्चालन गर्दै आइरहेको मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न गरेको छ। अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको सहभागिता रहेको थियो।

पोखराको न्यूरोड स्थित सगुन रेष्टुरेण्ट एण्ड बारमा भएको अडिसनबाट १३ जना प्रतियोगी छनौट गरिएको आयोजकले जनाएको छ। पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतिको प्रभाव नराम्रोसँग युवा पुस्तामा परेको र नेपाली संस्कृति विस्तारै विस्तापित गइरहेकाले यस कार्यक्रममार्फत् विदेशी संस्कृतिबाट बढी प्रभावित युवा पुस्तालाई नै संस्कृति र रितिरिवाज जोगाउन लागि पर्ने वातावरण सृजनाका निम्ति कार्यक्रम अझ प्रभावकारी तवरले अगाडि बढाउन लागिएको पुष्पाञ्जली फेशन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले बताइन्।

अडिसनबाट छनौट भएकाहरूलाई ४५ दिनको प्रशिक्षण पश्चात फाइनल कार्यक्रममा प्रवेश गराइने र विजेतालाई स्कुटरसहित चाँदीको क्राउन प्रदान गरिने कार्यक्रम संयोजक दिनेश शर्माले जानकारी दिए। कार्यक्रमको मूख्य प्रायोजकमा सिजि ब्रुअरी नेपाल (नेपाल आइस बियर), प्रिजेन्टेड बाइमा प्रभु बैंक र पावर्डबाइमा हरपल चामल रहेका छन्।