काठमाडौं, ७ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले पार्टी प्रवक्ताले झै पार्टीको धारणा सार्वजनिक गरेको भन्दै प्रचार विभाग उपप्रमूख सूर्य थापाले आपत्ति जनाएका छन्। गत मङ्सिर २९ गतेदेखि सुरु भएको बैठक आइतबार सकिएलगत्तै रावलले प्रवक्तालेझैँ पार्टी निर्णय सुनाउनु विधि र परम्परापिरीत भएको भन्दै थापाले आपत्ति जनाएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुपर्ने विषय रावलले दिएर सामान्य प्रचलनको उल्लङ्घन गरेको आरोप लगाए। ‘पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत् सार्वजनिक गरिने वैधानिक र व्यावहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ,’ थापाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘कमरेड भीम रावल सुदूरपश्चिम प्रदेश समन्वय कमिटी ईञ्चार्ज रहनुभएको छ, अनि प्रवक्ताको काममा यो के को अभ्यास हो? कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरू हरेकले आ-आफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ कि?’
रावलले जिम्मेवारी भन्दाबाहिर गएर प्रवक्ताले झैँ बोल्ने कार्यले अराजकता हाबी हुने थापा भनाइ छ। ‘जबकि, सुदूरपश्चिम प्रदेशमा अरूले यस्तै गर्दा कमरेडलाई कति सह्य हुन्छ? यो तरिका त उचित हुँदै भएन। कुन काम कसको जिम्माको हो? ख्याल गरिदिने कसले हो त? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हाबी हुन्छ ।’
पार्टीले मिडियासँग बोल्न र धारणा सार्वजनिक गर्न श्रेष्ठ र आफूलाई जिम्मेवारी दिएको दाबीसमेत गरे। ‘पार्टी प्रवक्ता कमरेड नारायणकाजी श्रेष्ठलाई केन्द्रीय प्रचार तथा प्रकाशन विभागको प्रमूख र मलाई उपप्रमूखको जिम्मेवारी प्रदान गरेको कार्यविभाजन अन्तरपार्टी निर्देशन-२ मार्फत् पार्टीव्यापी जानकारी गराइसकेको स्पष्ट छ,’ उनले लेखेका छन्, ‘स्थायी कमिटीको बैठकका विगत ७ दिनमा धेरै कमरेडहरू आ-आफैं प्रवक्ताजस्तो गरी टेलिभिजन क्यामेरासामु प्रस्तुत हुन यसरी किन उछिन-पाछिन गर्नुभएको होला? ताज्जुब लाग्छ’ सामाजिक सञ्जालमा लेखेका छन्।