काठमाडौं। प्रहरीले काठमाडौंको बाँसबारीमा रहेको केही शंकास्पद घरमा छापा मारेको छ। काठमाडौंमा बसेर केही विदेशी नागरिकले शंकास्पद गतिविधि गरेको सुचनाका आधारमा प्रहरीले छापा मारेको हो। एक प्रहरी अधिकारीका अनुसार छापा मार्नेक्रममा ७२ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।
केही दिनअघि मात्रै गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा राजधानीका मनमैजु, बाँसबारी र सामाखुसीमा बसेर सेल्टर बनाइ बसेका विदेशी नागरिकहरुले शंकास्पद गतिविधि गरेको रिपोर्ट सुरक्षा प्रमुखहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई बुझाएका थिए।
सोही रिपोर्टका आधारमा प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर टेकुको एउटै टीम बनाएर अपरेशन गर्न निर्देशन दिएका हुन्। सोमबार तीनवटै प्रहरी कार्यालयले संयुक्त अपरेशन गरेका छन्। अपरेशन अहिले पनि जारी छ। प्रहरी स्रोतले कस्तो शंकास्पद गतिविधि गरेको भन्नेबारे खुलाएको छैन।
घरभित्र शंकास्पद विदेशी नागरिक भएकाले छापा मारिएको परिसरका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। ‘शंका लागेर छापा मारेको हो। अहिले काम भइरहेको छ। अहिले नै यसै भन्ने अवस्था छैन,’ सुवेदीले भने। तीनवटा घरमा छापा मारिएको प्रहरीले जनाएको छ। वित्तिय अपराधमा सलग्न भएको आशंकामा प्रहरीले छापा मारेको हो।
‘उनीहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको हो। अनुसन्धानपछि सङख्यामा थपघट हनसक्छ।’ एक प्रहरी अधिकृतले भने। प्रहरीले बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक घरभित्र भएको सूचनाको आधारमा छापा मारेको हो। प्रहरीले गत भदौमा बैंक ह्याकिङ गर्ने चिनियाँ नागरिक लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ, चेन बिन बिन र फ्रेन्च नागरिक सु लुसिङलाई नियन्त्रणमा लिएको थियो।
उनीहरुको साथबाट बैंक ह्याक गरिएको १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो। उनीहरुलाई उच्च अदालत पाटनले थुनामा पठाइसकेको छ।