सवारी चालक अनुमतिपत्र परीक्षामा परिवर्तन, अब लाइसेन्स लिन के गर्नुपर्छ ?

trial
लाेकपाटी न्यूज

काठमाडौं। ठूला सवारीसाधनका लागि दिइने सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुवै परीक्षा परिवर्तन हुने भएको छ। संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नै ठूला सवारीसाधन संचालनका लागि लिइने लाइसेन्सको परीक्षा परिवर्तन गर्न प्रस्ताव गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए।

उनका अनुसार, सार्वजनिक सवारीसाधनका चालकका लागि लक्षित गरेर यो नियम ल्याउन लागिएको हो। संघीय ऐनका विषयमा छलफल गर्न पुस १३ र १४ गते विभागले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल र सुझाव लिँदैछ। विभागले संघीय सवारी तथा यातायात ऐनको मस्यौदा तयार पारिरहेको छ। मस्यौदा तयार पारेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने योजना बनाइएको छ।

नेपालमा सार्वजनिक सवारीसाधन दुर्घटना दर बढ्दो छ। जसले वर्षेनी ठूलो जनधनको क्षति पुर्‍याइरहेको छ। विभागले गरेको अध्ययनअनुसार, सवारीसाधन दुर्घटना हुनुमा ८० प्रतिशत कारण चालकको लापरवाही देखिने गरेको छ। बाँकी २० प्रतिशतमा मानवीय त्रुटी, यान्त्रिक गडबडी, सडकको अवस्था र पैदल यात्रु लगायत रहेका छन्। यसैलाई मध्यनजर गर्दै चालकलाई लक्षित गरेर लाइसेन्सको परीक्षा परिवर्तन गर्न लागिएको हो।

महानिर्देशक हमालले लिखित परीक्षामा निश्चित समयको कोर्ष नै राख्न लागिएको बताए। अहिले तीन महिनाको कोर्ष राख्न प्रस्ताव गर्न लागिएको छ। त्यसमा सवारीसाधनको यान्त्रिक अवस्था, सवारीसाधनसँग जोडिने विषय, यात्रुसँग गर्ने व्यवहार लगायत समावेश हुनेछ।

कोर्ष पढेर लिखित परीक्षा दिनुपर्नेछ। लिखित पास गरेपछि बल्ल ट्रायल दिन सकिने छ। प्रयोगात्मक परीक्षा पनि अहिलेको भन्दा फरक हुनेछ। ‘ठुला सवारीसाधन चलाउने जस्तो विषयमा सामान्य ट्रायल दिएर हुदैन,’ हमालले भने ‘फिल्डमै गएर टेष्ट लिने व्यवस्था गर्दैछौ।’

उनका अनुसार फिल्डमा गरिने टेष्ट पासपछि पनि लाइसेन्स पाउनका लागि ६ महिना ट्रायल अवधि राखिने छ। यो अवधिमा सवारीसाधन संचालन गरेको रिपोर्ट कार्ड राम्रो भए मात्रै लाइसेन्स पाइने छ। रिपोर्ट कार्ड राम्रो नभए पुन: ट्रायल अवधि थपिनेछ। तीन महिनाको पुन: ट्रायल अवधि थप्ने प्रस्ताव गर्न लागिएको छ।

अहिले सडक पुर्वाधार नहुँदा पनि सवारीसाधन संचालन भइरहेको छ। ट्रयाक खोल्ने वित्तिकै अधिकांश पहाडी क्षेत्रमा सवारीसाधन संचालन हुने गरेका छन्। यो विषयमा कसरी अघि बढ्ने र दुर्घटना कम गराउने भन्ने विषयमा सडक विभागले तयारी गरिरहेको छ। यसमा सडक सुरक्षा, अडिट लगायतका विषयहरू समेत समेटिने छ। भौगोलिक अवस्था हेरेर सडक सुरक्षाका लागि के कस्तो विधि अपनाउने भन्ने विषयलाई समेत प्राथमिकता साथ डिजाइनमै समावेश गर्न लागिएको छ। –पहिलो पोष्टबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्