काठमाडौं। काठमाडौंमा बसेर केही विदेशी नागरिकले शंकास्पद गतिविधि गरिरहेको आशंकामा प्रहरीले सोमबार ‘विशेष अपरेसन’ चलाउँदा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका छन्। अपरेसनको क्रममा एक सय २२ चिनियाँ नागरिक पक्राउ परेका हुन्। नेपालमा हुने अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएपछि नेपाल प्रहरीले काठमाडौंमा विशेष अपरेसन चालाएको थियो।
काठमाडौंको मनमैजुबाट ८० जनासहित बूढानीलकण्ठ र बाँसबारी क्षेत्रबाट एक सय २२ चिनियाँ नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइएको छ। बैकका एटिएमहरू ह्याकिङ, वित्तीयसहित विभिन्न अपराधमा संलग्न भएको आशंकामा उनीहरु पक्राउ परेका हुन्। नेपालमा हुने गम्भीर प्रकृतिका अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको पाइएपछि नेपाल सरकार र चीन सरकारका अधिकारीबीच छलफल थियो। नेपालमा रहेका शंकास्पद चिनियाँ नागरिकलाई पक्राउ गरी ‘डिपोर्ट’ (देशनिकाला) गर्न चीन सरकारको आग्रहपछि उनीहरूलाई पक्राउ गरिएको हो।
उच्च स्रोतका अनुसार दुई महिनादेखि नै प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसर काठमाडौंलाई उनीहरूको निगरानी गर्न निर्देशन दिएको थियो। नेपाल प्रहरीले उनीहरू बस्ने स्थान र उनीहरूले गर्ने काम कारबाहीबारे सूचना संकलन गरिरहेको थियो। सोही निर्देशनअनुसार शंकास्पद गतिविधिमा संलग्न चिनियाँविरुद्ध सिआइबी, महाशाखा र परिसरको संयुक्त टोलीले सोमबार दिउँसो चलाएको अपरेसन अहिलेसम्मकै ठूलो हो।
उनीहरूले काठमाडौं उपत्यकामा घर भाडामा लिएर बैंक ह्याकिङलगायत अपराध गरेको आरोप नेपाल प्रहरीले लगाएको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धानपछि नेपालको कानुनका आधारमा मुद्दा चलाउन मिल्नेलाई नेपालमै र नमिल्नेलाई अध्यागमन कानुनअनुसार डिपोर्ट गरिनेछ। चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणका आएका बेला नेपाल र चीनबीच भएको समझदारीअनुसार नेपालमा पक्राउ परेका नागरिकलाई देशनिकाला गरी चीन फर्काउने सम्भावना छ। चिनियाँ राष्ट्रपति सी नेपाल आएका बेला नेपाल र चीन सरकारबीच भएको समझदारीपत्रको तेस्रो बुँदामा आपराधिक विषयमा पारस्परिक कानुनी सहायताबारे नेपाल र चीनबीच सन्धि हुने उल्लेख छ।
सोही बुँदालाई कार्यान्वयन गर्नेक्रममा चीन सरकारले नेपाल सरकारलाई शंकास्पद चिनियाँ नागरिक पक्राउ गरी डिपोर्ट गर्न आग्रह गरेको थियो।‘आज पक्राउ परेकामध्ये धेरै शंकास्पद देखिए वा नेपाल सरकारले डिपोर्ट गर्ने अवस्था आए सो बुँदा कार्यान्वयन भएको मानिनेछ,’ स्रोतले भन्यो। नेपाल–चीन सरकारबीच सुपुर्दगी सन्धि नभएका कारण चीन सरकार यही बुँदामा टेकेर नेपालमा पक्राउ परेका शंकास्पद नागरिक चीन लैजान चाहन्छ।
‘नेपाल प्रहरीलाई पहिलेदेखि नै संगठित रूपमा चिनियाँ नागरिक किन नेपालमा बसिरहेका छन् भनी सूचना संकलन गर्दा उनीहरूको गतिविधि शंकास्पद पाइएको थियो, त्यसकारण पक्राउ गर्न थालिएको हो,’ प्रहरी प्रधान कार्यालयको उच्च स्रोतले भन्यो, ‘देखिने उद्योगधन्दा तथा व्यवसाय केही नभए पनि नेपाल आएर चिनियाँ नागरिकले किन ठूल्ठूला घर भाडामा लिएर बसेका छन् भनेर उनीहरू प्रहरीको नजरमा परिसकेका थिए। यसबारे गृह मन्त्रालयलाई पनि जानकारी गराइयो।’