मकवानपुर। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी उपत्यका बाहिर हुने बताएका छन्। उनले प्रदेशको राजधानी र नामाकरणको विषयमा सहमति भइसकेको समेत बताए। प्रदेश सरकारले हिँउदे अधिवेशनबाट यसको टुंगो लगाउने तयारी भएको जानकारी समेत गराए।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गण्डकी प्रदेशका सभामुख नेतृत्वको टोलीलाई स्वागत गर्दै उनले राजधानी र नामाकरणका बारेमा जानाकारी गराएका हुन्। ‘हाम्रो सहमति भइसकेको छ, अब प्रदेशसभा बैठक बसेर अनुमोदन गर्न बाँकी छ,’ उनले भने, ‘परिपक्व निर्णयका लागि हामीले यो विषयमा केही ढिलाइ गरेका हौं। अब बस्ने प्रदेशसभाको पहिलो एजेण्डा नै राजधानीको नामाकरण र स्थान टुंगो लगाउने हो।’
बहुमत भएकै आधारमा हचुवाको भरमा राजधानी टुंगो लगाउन नहुने भन्दै उनले सबैको सहमतिमा टुंगो लगाउँदा दीगो हुने बताए। उपत्यकामै राजधानी राख्नेसम्बन्धीको जिज्ञासामा उनले भनेका थिए, ‘विकेन्द्रीकरणको विषयमा लामो समय देशमा संघर्ष भयो। अब उपत्यकामै राजधानी हुनुपर्छ भन्ने धारणा गतल हो।’ उनले धेरै सांसद् उपत्यकाभित्रै भएका कारण आफ्नो सहजताका लागि राजधानीको विषयमा विवाद निकाल्न खोजेको बताए।
मुख्यमन्त्री पौडेलले संघीयताको कार्यान्वयनको क्रममा कर्मचारीको अभाव भएको र आवश्यक अनुसार ऐन कानुन उपलब्ध नहुँदा केही कठिन भएपनि विस्तारै सहज हुँदै गइरहेको दाबी गरे। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीसहितको टोलीलाई मुख्यमन्त्री पौडेलले प्रदेश ३ सरकारले गरिरहेको कामका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी गराएका थिए। गण्डकी प्रदेशले पनि आफ्नो अनुभव सुनाएको थियो।