काठमाडौं, ८ पुस। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको ट्वीटलाई रिट्वीट र कमेन्ट गरे चिनियाँ चलचित्र महोत्सवको टिकट पाइने भएको छ। मंगलबार बिहान राजदूत होउले चिनियाँ चलचित्र महोत्सवको पोस्टरसहित ट्वीट गरेकी छन्।
२७ डिसेम्बरमा काठमाडौंबाट सुरु हुने चिनियाँ चलचित्र महोत्सव काठमाडौं, पोखरा, लुम्बिनीमा गरी ८ जनवरीसम्म चल्नेछ। जसमा उनले उक्त ट्वीटलाई रिट्वीट गर्ने, कमेन्ट गर्ने मध्येबाट ५ जनालाई चिनियाँ चलचित्र महोत्सवको २–२ वटा टिकट दिने घोषणा गरेकी छन्।
चिनियाँ चलचित्र महोत्सवको उद्घाटन समारोह २७ डिसेम्बरमा काठमाडौंमा हुँदैछ। राजदूत होउले लेखेकी छन्‘ मलाई फलो गर्नुहोस्, यो पोस्ट रिट्वीट गर्नुहोस्, एकजना साथीलाई ट्याग गरी कमेन्ट गर्नुहोस्’। यसका लागि उनले २६ डिसेम्बर राति १२ बजेसम्मको समय दिएकी छन्।
धेरै लाइकका आधारमा टप ५ जनालाई २–२ वटा चलचित्र महोत्सव उद्घाटन समारोहको टिकट दिने घोषणा होउले गरेकी छन्। नेपालीमाझ निकै घुलमिल हुन् रुचाउने होउले ट्वीटरमा नेपाली फलोअर्स बढाउने रमाइलो काइदा रचेकी छन्। हालसम्म उनको ट्वीटरमा साँढे ९ हजारबढी पलोअर्स छन्।