काठमाडौं। यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर वितरण फेरि सुचारु गर्ने भएको छ। सर्वोच्च अदालतको फैसलासँगै इम्बोस्ड नम्बर वितरण पुनः सुचारु गर्ने तयारीमा विभाग जुटेको हो।
नम्बर प्लेट नेपालीमै हुनुपर्ने तथा प्रदेशको नामाकरण नगरी जडान गर्न नहुने विवादका कारण डेढ वर्षदेखि यसको काम रोकिएको थियो। इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिएको भाषा रोमन भएको र प्रदेशको नामाकरण नभई प्रदेश सवारी ऐनसमेत नआएको भन्दै इम्बोस्डको काम तत्काल अगाडि नबढाउनका लागि अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि वितरण प्रक्रिया रोकिएको थियो।
सर्वोच्चले साविककै व्यवस्थाअनुसार सुचारु गर्न बाटो खोलिदिएपछि विभागले प्रदेशको नामाकरण नभए पनि इम्बोस्ड नम्बर वितरण गर्ने तयारी सुरु गरेको हो। गण्डकी, कर्णाली र सुदूरपश्चिमबाहेक अन्य प्रदेशको नाम टुंगो लागिसकेको छैन। प्रदेशको नाम टुंगो नलागेका प्रदेशमा प्रदेश नम्बरकै आधारमा इम्बोस्ड वितरण गर्ने तयारी भएको छ। अदालतको पूर्ण पाठ आएपछि नामाकरण नभएका प्रदेशहरूलाई नम्बरको हिसाबले इम्बोस्ड नम्बर वितरण गर्ने यातायात विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए।
भाषाको सम्बन्धमा सर्वोच्च अदालतबाट संक्षिप्त आदेश वा फैसलाको पूर्ण पाठ नआएसम्म इम्बोस्ड नम्बर प्लेट छपाइ सुरु हुनसक्ने सम्भावना छैन। सर्वोच्च अदालतले फैसलाको पूर्ण पाठ फैसला भएको मितिले २१ दिनभित्र दिइसक्नु पर्ने हुन्छ। फैसलाको पूर्ण पाठ आएसँगै काम अघि बढ्ने विभागका निर्देशक खनालले बताए। प्रदेशहरूले यातायात व्यवस्था ऐन बनाइसकेका कारण कानूनी जटिलता छैन। सबै प्रदेशहरूको नामाकरण नभइसकेको अवस्थामा तत्काल इम्बोस्ड नम्बर प्लेट बनाउने कि नबनाउने भन्ने समस्या छ।
‘प्रदेश एक, दुई, तीन र पाँचको नामाकरण भएको छैन त्यसैले अहिले स्टेट १, स्टेट २ भनेर इम्बोस्ड नम्बर प्लेट बनाइने छ तर पछि प्रदेशको नामाकरण भएपछि फेरि त्यो नम्बर प्लेट परिवर्तन हुनेछ,’ प्रवक्ता खनालले बताए। इम्बोस्ड नम्बर प्लेटको काम अगाडि नबढाउन सर्वोच्च अदालतले दिएको आदेश संवैधानिक इजलाशले खारेज गरेसँगै इम्बोस्ड नम्बर प्लेटको काम अगाडि बढाउन यातायात व्यवस्था विभागलाई बाटो खुलेको हो।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले इम्बोस्ड नम्बर प्लेट छपाइका लागि बाटो खुला गरेपनि संक्षिप्त आदेश वा पूर्ण पाठ नआई काम अगाडि बढाउन भने समस्या रहेको जनाएका छन्। ‘पूर्ण पाठ आएसँगै विभाग र ठेक्का पाएको संस्थाले इम्बोस्ड नम्बरको छपाइका लागि तयारी थाल्ने छ। मेसिनहरू चुस्त र दुरुस्त राख्नुपर्ने, अन्य प्राविधिक कामहरू पनि सक्नुपर्ने हुन्छ। तर अदालतले दिने निर्देशन के हुनेछ भन्ने जानकारी नभइ पहिलेकै अवस्थाबाट छपाइ गर्न भने नसकिने छैन,’ खनालले भने।
सर्वोच्चको आदेशमा इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा अर्थात रोमनमा नै प्रयोग गर्ने हो भने पनि त्यसका लागि कानुनी व्यवस्था गर्नुपर्ने हुन्छ। यातायात व्यवस्था ऐनमा परिमार्जन गरी सवारीसाधनको नम्बर प्लेट नेपाली वा रोमन वा दुवै भाषामा लेख्न सकिने छ भन्ने व्यवस्था गर्नुपर्ने हुनसक्छ।