काठमाडौं। मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको बीचमा ठूलो आगोको मुस्लो देखिएको छ। उक्त क्षेत्रमा विमान दुर्घटनाको आशंका गरिएपनि त्यसमा सत्यता नभएको नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालमा सञ्चालन हुने सबै विमान अहिले सम्पर्कमै रहेका छन्। त्यसक्षेत्रमा कुनै पनि विमान वा हेलिकप्टर दुर्घटना नभएको प्रवक्ता क्षेत्रीले बताए।
उनले भने ‘अहिले मकवानपुरमा दुर्घटना भयो भनेर हल्ला भएको रहेछ। त्यो पूरै गलत सूचना हो। हाम्रा सबै विमान र हेलिकप्टरहरु सम्पर्कमै छन्। त्यहाँ कसैले आगो लगाएको होला, तर त्यहाँ कुनै विमान दुर्घटनामा परेको छैन।’
आगो लागेको स्थानमा यतिबेला प्रहरीको टोली जाँदै गरेको छ।