स्थायी शिक्षक हाजिर नगराउने स्थानीय तहकाे दरबन्दी कटौति गर्ने निर्णय

deo-logo
लाेकपाटी न्यूज

काठमाडौं, ९ पुस । नियुक्तिको सिफारिस पाएका स्थायी शिक्षकहरुलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाजिर नगराउने स्थानीय तहबाट दरबन्दी कट्टा गरिने जनाएको छ। केन्द्रका महानिर्देशक बाबुराम पौडेलले आयोगबाट स्थायी परीक्षा उत्र्तीण भई सिफारिस भएका शिक्षकहरुलाई केही स्थानीय तहहरुले हाजिर नगराएको भन्ने सुनिन आएको भन्दै अझै ढिलाई गरे दरबन्दी काटेर अन्तै पठाइदिने चेतावनी दिएका हुन्।

महानिर्देशक पौडेलले शिक्षा विकास तथा समन्वय इकाइ डोटीले मंसिर ८ गते स्थायी नियुक्ति दिएर ९ गते स्थानीय तहमा सिफारिस गरेर पठाएका ५ जना शिक्षकहरुलाई पूर्वी चौकी गाउँपालिकाले करारका शिक्षक हटाउन नसक्ने भन्दै हाजिर नगराएकोप्रति आक्रोशित हुँदै तत्काल हाजिर नगराए दरबन्दी नै कट्टा गर्ने बताएका हुन्। ‘नियमतः इकाईबाट सिफारिस भएका शिक्षकहरुलाई स्थानीय तहले हाजिर गराउनुपर्छ, अन्यथा शिक्षा ऐनअनुसार कार्वाही प्रक्रिया अघि बढ्छ’ पौडेलले भने, ‘यसको अर्थ दरबन्दी काटेर अन्तै पठाउने छौं ।’

डोटीको पूर्वीचौकी गाउँपालिकाले करारमा राखेका शिक्षक हटाउन नसक्ने भन्दै स्थायी नियुक्ति पाएर सिफारिस भएका शिक्षकहरुलाई एक महिना बित्दासमेत हाजिर नगराउँदा शिक्षकहरु बिचल्ली परेका छन्।इकाइले सिफारिस गरेर पठाएका १९ शिक्षकमध्ये १४ जनालाई हाजिर गराएपनि पूर्वीचौकी गाउँपालिकाले करारका शिक्षक हटाउन नसक्ने भन्दै ५ जना शिक्षकहरुलाई एकमहिनासम्म पनि हाजिर गराएको छैन।

शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट स्थायी बन्न सफल पर्शुराम ८ डडेल्धुराका भिमबहादुर कामी, बेलौरी १० कञ्चनपुरका जयराम सुनार र कविलासी ७ सर्लाहीका उमेश रायलाई गाउँपालिकाले हाजिर नगराएको हो। यस्तै, विजयनगर ३ कपिलवस्तुका दिनेशकुमार चौधरी र बाघेबसैन ३ सप्तरीका टेकनारायण साहलाई पनि गाउँपालिकाले हाजिर नगराएको हो।

इकाईले स्थायी नियुक्ति दिएर पदस्थापनका लागि पालिका रोजाएर सिफारिस गरेको भएपनि पूर्वीचौकी गाउँपालिकाले पहिल्यै करारमा नियुक्त गरेको शिक्षक हटाउन नसक्ने भन्दै हाजिर गराउन आनाकानी गरेपछि शिक्षकहरु बिचल्लीमा परेका हुन्। शिक्षा विकास तथा समन्वय इकाइका प्रमूख अमरप्रसाद भट्टलाई हाजिर नगराएको बारे गुनासो गर्दा आफूहरुले सिफारिस गरेर पठाइसकेकाले केही गर्न नसक्ने जवाफ दिने गरेको पीडित शिक्षक भिमबहादुर कामीले जानकारी दिए।

इकाई प्रमूख भट्टले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन अनुसार सिफारिस गरेर पठाएकाले अब हाजिर नगराए मुद्दा गर्न सुझाब दिने गरेको पीडित कामीको भनाइ छ। ‘शिक्षा इकाइले गाउँपालिका जाऊ भन्छ, गाउँपालिकाले शिक्षा इकाई जाऊ भन्छ, हामी कहाँ जाने हो ?’ कामी भन्छन्, ‘हामी शिक्षक सेवा आयोगले तोकेका सबै मापदण्डहरु पूरा गरेर आएका हौं, फेरि पनि यस्तो किन ?’

‘कहिले गाउँपालिका त कहिले इकाई धाउँदा धाउँदा हैरान भइयो’ पीडित शिक्षक जयराम सुनारले भने। पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले करारमा राखेका शिक्षक हटाएर हाजिर गराउन नसक्ने भन्दै उनले पनि मुद्दा हाल्न चेतावनी दिने गरेको शिक्षक सुनार बताउछन् । गाउँपालिकामा शिक्षाका कुनै कर्मचारी नरहेको र प्रशासकीय अधिकृत टेकबहादुर खड्काले पनि गाउँपालिका अध्यक्ष बोगटीकै बोलीमा लोली मिलाउँदा आफूहरु समस्यामा परेको अर्का पीडित शिक्षक उमेश राय बताउछन्।

उनी भन्छन्, ‘लामो समयदेखि घर छोडेर यहाँ बसेका छौं, बोकेको पैसा पनि सबै सकियो ।’ जागिर खान आएको मान्छे घरबाट पैसा मगाउन पनि अप्ठेरो लागेको उनी बताउँछन्। पूर्वीचौकी गाउँपालिकाले योग्यताक्रम सूची मिचेर पदस्थापन गरेको शिक्षकहरुको गुनासो छ। योग्यताक्रम भन्दा पनि स्थानीयलाई नियुक्ति दिएको जयराम सुनार बताउँछन्। तर गाउँपालिका भने मापदण्ड अनुसार नै पदस्थापन गरिएको दाबी गर्छ ।

गत साउन १९ गते शिक्षक सेवा आयोगले डोटीको प्राथमिकतहको स्थायी शिक्षकहरुको अन्तिम नामावली प्रकाशित गरेको थियो । शिक्षा इकाईले स्थायी भएका ११७ शिक्षकहरुलाई मंसिर ८ गते पालिका रोजाएर स्थायी नियुक्ति दिँदै ९ गते स्थानीय तहमा सिफारिस गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्