— मदन पंगाली
अफिमको नसामा लठ्याउँदै साम्राज्यवादीहरुले लुटिरहेको चीनका बारेमा एक पटक नेपोलियन बोनापार्टले भनेका थिए, ‘त्यहाँ एउटा दैत्य सुतेको छ, त्यसलाई सुतिरहन देऊ किन कि जब त्यो ब्युँझने छ, त्यसले सारा संसारलाई हल्लाउने छ।’ नभन्दै त्यो दैत्यलाई माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले ब्युँझायो। संसारलाई हल्लाउने देश चीनलाई साम्राज्यवाद र सामन्तवादको पञ्जाबाट मुक्त गर्दै समाजवादका लागि सांस्कृतिक, राजनीतिक र आर्थिक आधार खडा गर्ने माआत्सेतुङको जन्म चीनको हुनान प्रान्तको स्याङथान प्रदेशको साओसान भन्ने गाउँमा सन् १८९३ डिसेम्वर २६ मा भएको थियो।
बाबु माओसुनसाङ र आमा बेन छिमेइको ज्येष्ठ सन्तानका रुपमा जन्म भएको थियो माओत्सेतुङको। गरीबीका कारण सेनाको जागीर खाएका माओत्सेतुङका पिताको सेनाबाट अवकाशपछि आर्थिक अवस्था सुध्रदै गयो। माओसुनसाङले छोरालाई एक प्राइभेट स्कूलमा भर्ना गरिदिए। माओत्सेतुङले स्याङ काउन्ट्रीको तुङसान पाठशालाबाट उच्च प्राथमिक शिक्षा र प्रान्तीय राजधानी छाङसाको स्याङस्याङ विद्यालयबाट माध्यामिक शिक्षा प्राप्त गर्नुभयो। छिङ राजवंश विरोधी सन् १९११ को क्रान्तिपछि माओत्सेतुङ ६ महिना जति विद्रोही नौलो सेनामा काम गर्नुभयो। सन् १९१३ मा माओ प्रान्तीय नर्मल स्कूलमा भर्ना भई सोहीबाट सन् १९१८ मा स्तानक उपाधि प्राप्त गर्नुभयो।
माओेले सन् १९१८ मा छाङ हसन र स्याओछन् लगायतका साथीहरुसँग मिलेर प्रान्तीय राजधानी छाङसामा एउटा संगठन सिनमिन स्यु हेइ (नवजनवादी अध्ययन मण्डल) स्थापना गर्नुभयो। यो अध्ययन मण्डलको उद्देश्य चीनलाई फेर्न नयाँ उपाय र पद्धतिको खोजी गर्नु थियो। सन् १९१९ मे ४ मा चीनमा एक आन्दोलन भयो। यो आन्दोलन प्रथम विश्वयुद्धको भर्सेलिज सन्धीविरुद्ध विधार्थीहरुबाट सल्किएको देशभक्तिपूूर्ण आन्दोलन र कम्फ्युसियसवादी विचार विरोधी सांस्कृतिक क्रान्ति थियो। यो ४ मेको आन्दोलनले माओलाई मार्क्सवादी बनायो। उहाँले सन् १९२० तिर छाङ्सामा कम्युनिष्ट समूहहरु गठन गर्नुभयो।
सन् १९२१ जुलाई १ मा स्थापना भएको चिनियाँ कम्युष्टि पार्टीको संस्थापक सदस्य हुनुभयो। माओ हुनान क्षेत्रीय पार्टी समिति सचिव र मजदूर कमिटीका नेता पनि बन्नुभयो। सन् १९२३ को चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनले सन् यात्सेनले नेतृत्व गरेको क्योमिन्ताङ पार्टीसित कम्युनिष्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय लियो। माओ सन् १९२३ मा किसान आन्दोलनको केन्द्रीय सचिव हुनुभयो। माओले चीनको वर्ग विश्लेषण गर्दै पार्टी प्रमूख छनतुस्युको दक्षिणपन्थी विचारको आलोचना गर्नुभयो। सन् यात्सेनको मृत्युपछि क्योमिन्ताङ नेतृत्वमा आएको च्याङकाइसेकले साम्राज्यवाद र सामन्तवाद विरोधी धार छाड्दै गएकाले कम्युनिष्ट क्योमिन्ताङ मोर्चा भंग भयो। सन् १९२७ मा माओले विद्रोही फौजलाई चिङकाङ पहाडतर्फ लानुभयो। माओ पार्टी मोर्चा समिति सचिव र चुतेह सैन्य प्रमुख हुनुभयो। पार्टी र सेनामा ठूलो सुधार अभियान सञ्चालन गर्दै आधार इलाका पनि विस्तार गरियो।
सन् १९३१ को नोभेम्वरमा गठित चिनियाँ सोभियत गणतन्त्रको माओ अध्यक्ष बन्नुभयो। आधार इलाकामा उत्पादन व्यवस्थित गर्दै ती इलाका आत्मनिर्भर पारिए। तत्कालिन पार्टी नेतृत्वले लिएको शहर केन्द्रित दुस्साहसवादी नीतिका कारण पार्टी ठूलो संकटमा पर्यो। सन् १९३४ अक्टोवरमा पार्टीले माओको नेतृत्वमा लङ्ग मार्च अभियानको कार्यक्रम लियो। लङ्ग मार्च २५०० लि. (५ हजार कि. मि.) लामो अत्यन्त कष्टपूर्ण यात्रा थियो। २० करोड जनसंख्या भएको ग्रामीण इलाकामा पार्टी नीति, कार्यक्रम र नेतृत्वलाई पुर्याउने लङ्ग मार्च उत्तर सान्सीतर्फ लाग्यो र जापानी साम्राज्यवाद विरोधी मोर्चा कस्यो।
सन् १९३५ को जनवरी मा कुइचओ प्रान्तको चुनई भन्ने ठाउँमा भएको बैठकले नेतृत्वबाट वाङमिङलाई विस्थापित गरी माओ पार्टी प्रमुख हुनुभयो। कोमिन्ताङका जर्नेलहरुले कम्युनिष्ट विरोधी र जापानी अतिक्रमणप्रति अप्रतिरोध नीति लिएवापत् सन् १९३६ डिसेम्बरमा क्योमिन्ताङ प्रमुख च्याङकाइसेकलाई बन्दी बनाए। सियान घटनाले चिनिने यो घटनापछि च्याङकाइसेक आफ्नो नीतिमा परिवर्तन गर्न बाध्य भयो र कम्युनिष्ट क्योमिन्ताङ दोस्रोपटक मोर्चा बन्यो। सन् १९४५ मा जापान विरोधी युद्धमा चीन सफल भएपछि माओ च्याङकाइसेकसँग घरेलु शान्ति वार्ता चलाउनु भयो।
तर, च्याङकाइसेकले फेरि गृहयुद्ध सुरु गर्यो। माओले च्याङकाइसेकलाई पराजित गर्दै १९४९ अक्टोबर १ मा थ्यनयानमेन चोकबाट जनगणतन्त्र चीनको घोषणा गर्नुभयो। अब सम्पूर्ण उत्पादनको साधनहरु साम्राज्यवादका दलाल र सामन्तवादका प्रतिनिधिका हातबाट जनतामा पुगे। चीनले कृषि र औद्योगिक सुधार अभियान चलायो। चीनलाई घेराबन्दी गर्न कोरियामा आक्रमण गरेको अमेरिकी आक्रमणकारी विरुद्ध चीनले कोरियालाई सहयोग गर्यो। सन् १९५० मा माओले तत्कालीन समाजवादी सोभियत संघसँग मित्रता सहयोग र पारस्परिक सहयोग सम्बन्धी सम्झौता गर्नुभयो। सोभियत संघल पनि आर्थिक र प्राविधिक क्षेत्रमा ठूलो सहयोग गर्यो। माओ सन् १९५४ मा जनवादी गणतन्त्र चीनको संविधान निर्माण गर्दै जनवादी गणतन्त्र चीनको अध्यक्ष बन्नुभयो।
सोभियत संघको बोल्सेभिक पार्टीले २० औं र २२ औं महाधिवेशनबाट ख्रुश्चोवको नेतृत्वमा संशोधनवादी सुधारवादी नीति लियो। माओले संकटमा परेको विश्व कम्युनिष्ट आन्दोलनको रक्षा र विकासको नेतृत्व लिनुभयो। माओले संशोधनवादसँग जीवन मरणको सङ्घर्ष गर्दै साम्राज्यवाद, उपनिवेशवाद र ठूलो राष्ट्र अहंकारवादको आलोचना र राष्ट्रिय स्वाधीनता, मुक्ति आन्दोलन, न्यायपूर्ण सङ्घर्ष देशभक्ति र अन्तराष्ट्रियवादको दोहोरो नीतिको समर्थन गर्नुभयो। कृषि क्षेत्रमा तेल उत्पादन र औद्योगिक क्षेत्रमा तीब्र विकास गरी सन् १९६४ मा आणविक हतियार परीक्षण गर्दै १५ वर्ष अगाडिसम्म ८ वटा साम्राज्यवादी देशहरुले लुटिरहेको चीन तिनै साम्राज्यवादीहरुसँग विश्व रंगमञ्चको खेलाडी बन्यो।
समाजका पुराना विचार, संस्कृति, रीतिरिवाज र बानी नष्ट गर्न सन् १९६६ देखि १० वर्षसम्म माओले महान् सर्वहारा सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो। पार्टी नेतृत्व, सदस्य र जनतालाई सङ्घर्ष आलोचना र रुपान्तरणको विधिबाट नयाँ वैज्ञानिक र समाजवादी संस्कृतिबाट लैश पार्ने लक्ष्य थियो सांस्कृतिक क्रान्तिको। माओद्धारा मार्क्सवादको प्रमुख तीन अंग दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा रक्षा, प्रयोग र विकास गर्दै मार्क्सवादलाई समृद्ध पार्ने काम भयो।
दर्शनका क्षेत्रमा प्रकृति समाज र मानवीय ज्ञान सबै क्षेत्रको दृष्टकोणको आधारभूत नियम अन्तरविरोधको नियमको विकासले समस्याको परिचान र कार्यदिशा कार्यनीति निर्माण गर्न अचुक अस्त्र प्राप्त भयो। ज्ञानका क्षेत्रमा सिद्धान्त र ब्यवहारको सम्वन्धले सिद्धान्त निर्माणमा व्यवहारको कसीमा आदर्शवादी दर्शनको हिलोमैलोबाट मार्क्सवादको रक्षा गर्ने विधिको विकास भयो। एकको दुईमा विभाजनको नियमले पार्टीमा विकास हुने संशोधनवाद बुझ्न र क्रान्तिको रक्षा गर्न सहज बनायो। आदि सार्वभौम नियमद्वारा मार्क्सवादी दर्शन समृद्ध पार्नुुभयो भने राजनीतिक अर्थशास्त्रका क्षेत्रमा नोकरशाही पूँजीवादको वर्ग चरित्रको उद्घाटनले सामन्तवाद र साम्राज्यवादका बीच संयोजकको भूमिका खेल्ने नोकरशाही वर्गलाई नाङ्गो पार्नुभयो।
वैज्ञानिक समाजवादका क्षेत्रमा अर्धसामन्ती र अर्धऔपनिवेशिक राष्ट्रमा जनवादी क्रान्तिको समग्र अवधारणाको विकासले सामन्तवाद र साम्राज्यवादको उत्पीडनबाट पीडित राष्टका जनताको क्रान्तिको आशाको किरण जगायो, जनयुद्धको समग्र सिद्धान्त विकास गर्दै साम्राज्यवाद र प्रतिक्रियावादको अनिवार्य पतनको उद्घोष गर्नुभयो। साथै समाजवादी कालभरि वर्ग सङ्घर्ष जारी राख्न महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो। उपरोक्त सिद्धान्तको विकासले मार्क्सवादलाई तेस्रो चरणका रुपमा मार्क्सवादी–लेनिनवादी–माओवादी चरणमा पुर्यायो। चीन र चिनियाँ जनताका भाग्यविधाता र सम्पूर्ण विश्व कम्युनिष्ट आन्दोलनका ढुकढुकी माओत्सेतुङको ८३ वर्षको उमेरमा सन् १९७६ सेप्टेम्वर ९ का दिन निधन भयो।