काठमाडौं। प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ। प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो। औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन।
सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकाअनुसार यही पुस १३ गते उम्मेदवारको मनोनयन हुनेछ भने १४ गते निर्वाचन हुनेछ। सदनको निर्देशनानुसार संसद्का महासचिवले कार्यतालिका प्रकाशन गर्ने छन्। ‘हामीले अनौपचारिक परामर्शका आधारमा कार्यतालिका प्रस्ताव गरेका छौँ। हामीले १३ गते मनोनयन र १४ गते निर्वाचनको मिति प्रस्ताव गरेका छौँ। राजनीतिक रूपमा कुनै अर्को निर्णय नभएमा यही कार्यतालिका अगाडि बढ्छ’, सचिवालय स्रोतले भन्यो।
सभामुखको उम्मेदवारी चयनलगायतका विषयमा राजनीतिक परामर्शका लागि यसअघि अधिवेशनको पहिलो बैठकबाट दोस्रो बैठकको अवधि एक साता तोकिएको थियो तर यसबीचमा राजनीतिक दलबीच औपचारिक रूपमा परामर्श भएको छैन। पुस ४ गतेको परामर्श बैठकमा भने पुस ११ मा कार्यतालिका सार्वजनिक गर्ने सहमति भएको थियो।
सभामुखमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दावी गरिरहेको छ। संवैधानिक व्यवस्था अनुसार सभामुखमा नेकपाले उम्मेदवारी दिन तत्कालीन एमालेबाट उम्मेदवार बनेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको राजीनामा आवश्यक छ। उनको राजीनामा सभामुख चयनको कार्यतालिका अघि वा पछि यकिन भइसकेको छैन।
नेकपाबाट सभामुख को ?ः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन सकेको छैन। नेकपा अध्यक्ष प्रचण्ड बिहीवारै चितवनबाट आउने र सभामुखको टुंगो लगाउने भनिएको थियो। तर प्रचण्डले बिहीबार काठमाडौं फर्किने कार्यक्रम रद्द गरेपछि पार्टीमा छलफल हुन पाएन। शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखका बारेमा छलफल हुने नेकपा स्रोतले जनाएको छ। दुई अध्यक्षबीच सभामुख कसलाई बनाउने भन्नेमा मतैक्य हुन सकेको छैन।
प्रचण्डले सभामुख पार्टी एकीकरणअघि नै माओवादीले पाएकाले अबको सभामुख पनि आफैंले प्रस्ताव गर्ने अडान राखेका छन्। प्रधानमन्त्री ओली भने सभामुख सुवास नेम्वाङलाई बनाउन चाहन्छन्। अब संसद् झनै पेचिलो बन्ने भएकाले आफूले भर गर्ने र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना रहेको उनी निकट एक नेताले बताए।
यद्यपि, दुई नेताबीच व्यक्तिका विषयमा छलफल भएको छैन। अध्यक्ष प्रचण्डलाई सभामुख नछाड्न पूर्वमाओवादीका केही नेताहरूको दबाव छ। प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोजेको बताइन्छ। सभामुखको दाबेदारमा उपसभामुख तुम्बाहाम्फे, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सांसद् पम्फा भुसाल पनि छन्।
दुई अध्यक्षबीच सहमतिपछि सचिवालय बैठकले सभामुखको उम्मेदवार तय गर्ने नेकपा स्रोतले जनाएको छ। नेताहरूलाई दुई अध्यक्षलाई सहमति गरेर एउटै नाम बैठकमा पेस गर्न सुझाव दिएका छन्। पार्टीले स्पष्ट निर्देशन नदिएपछि उपसभामुख तुम्बाहाम्फेको राजीनामा पनि सरेको छ।
सभामुखमा आजै टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने भएमा उनले राजीनामा दिने तयारी थियो। पार्टीले टुंगो लगाएर दुवै अध्यक्षबाट निर्देशन आएपछिमात्र उनले राजीनामा दिने बताइएको छ।
कांग्रेसको शर्तः पुस ३ गते कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वसांसद् रमेश लेखकले प्रधानमन्त्री ओलीलाई भेटेर कार्यतालिका अघि उपसभामुखको राजीनामा आउनुपर्ने धारणा राखेका छन्। वर्तमान उपसभामुखले नै कार्यतालिका अघि बढाए नेकपाले सभामुखमा उम्मेदवारी दिन नपाउने दाबी कांग्रेस नेताहरुको छ।
कार्यतालिका प्रारम्भ गरेपछि उपसभामुख पद यथावत रहेको जानकारी हुने र संवैधानिक व्यवस्था अनुसार नेकपाले उम्मेदवार दिन नपाउने कांग्रेस नेताहरुको तर्क छ। तर, तुम्बाहाङ्फेले शीर्ष नेतासँग यसबारे परामर्श गरेकी छैनन्।
विकल्प पनि तयारः प्रतिनिधि सभा सचिवालयले भने उपसभामुखले राजीनामा दिएमा ज्येष्ठ सदस्यबाट सञ्चालनका लागि तयारी अवस्थामा राख्ने पनि परामर्श गरिरहेको छ। सचिवालयले सदनका ज्येष्ठ सदस्य महन्थ ठाकुरबाट बैठक सञ्चालनका लागि राष्ट्रिय जनता पार्टीमार्फत परामर्श पनि अघि बढाएको छ।
ठाकुर प्रतिनिधि सभाका ज्येष्ठ सदस्य हुन्। नागरिकतामा भने राजपाकै महेन्द्र राय यादव ज्येष्ठ हुन्। तर उनले नागरिकतामा गल्तीका कारण आफू ज्येष्ठ नभएको जानकारी यसअघि नै सचिवालयलाई गराइसकेका छन्। सो अनुसार सङ्घीय संसद्को पहिलो अधिवेशनमा सभामुख चयन नभएसम्मका लागि ठाकुरले नै बैठक सञ्चालन गरेका थिए।