रुबिरोसको प्रेमः राजासँग हात मिलाउँथे, रानीसँग सम्बन्ध राख्थे !

लाेकपाटी न्यूज

एजेन्सी। केही मानिसहरु उनलाई ‘द लास्ट ब्वाय’ भन्छन्, र केहीले उनलाई ‘जिगोलो’। तर २० औं शताब्दीमा सायदै कोही थिएन, जो डोमिनिकनका पोर्फिरियो रुबिरोसलाई नचिन्ने। उनी एक राजनीतिज्ञ, पोलो प्लेयर, कार रेसर, पायलट र जिगोलो पनि थिए।

१९४० र १९५० को दशकमा विश्व सत्तामा रहेकासँग काँधमा काँध कसरी मिलाउनुपर्छ भन्ने उनलाई राम्ररी थाहा थियो। उनी दर्जनौं महिलासँग प्रेमसम्बन्धमा रहे। उनले पाँच महिलासँग विवाह गरे, जसमा दुई महिला करोडपति थिए।

तर एक मध्यम वर्गका डोमिनिकन विश्व राजनीतिमा मुख्य भूमिकामा स्थापित हुनु आश्चार्य लाग्दो विषय थियो। पोर्फिरियो रुबिरोसको जन्म १९०९ मा डोमिनिकन गणराज्यमा भएको थियो। उनले आफ्नो जीवनको ५६ वर्ष विश्वका धेरै देशमा बसेर बिताए।

रुबिरोसको बायोग्राफी ‘द लास्ट प्ले ब्वायः द हाई लाइफ अफ पोर्फिरियो रुबिरोस’ का लेखक स्वान लेवीका अनुसार उनी विश्वका सबैभन्दा रोचक व्यक्ति थिए। धनी र शक्तिशाली व्यक्तिसँग सम्बन्ध विस्तार गर्ने मामिलामा उनी निकै चलाख थिए। धनी महिलासँग सम्बन्ध कायम गर्न उनलाई लामो समय लाग्दैनथ्यो।

उनको बाल्यकाल पेरिसमा बित्यो। पेरिस हुँदा उनी सेनामा भर्ती भए। यो क्रममा डोमिनिकनका तत्कालीन राष्ट्रपति राफेल लियोनिडास तुरजिलोको नजरमा परे र राष्ट्रपतिले छोरी फ्लोर अफ गोल्डसँग रुबिरोसको विवाह गर्दिए।

लेवी भन्छन् ‘तुरजिलो रुबिरोसलाई निकै महत्वकांक्षी, चतुर र आकर्षक व्यक्ति मान्दथे। एक व्यक्ति जो कोहीसँग भेट्यो कि आफूतर्फ छिट्टै आकर्षित गर्न सक्थे।’ रुबिरोस आफ्नो चार्मलाई प्रयोग गर्दै सम्पन्नशाली व्यक्तिलाई आकर्षित गर्ने गर्थे। उनलाई मानिसहरु एक ‘उत्कृष्ट प्रेमी’ पनि मान्थे।

उनी जसरी हुन्छ धनी महिलाहरुको संगतमा हुन चाहन्थे। रुबिरोसले पाँच महिलासँग विवाह गरे। एक विवाह अमेरिकी अरबपति महिला डरिस ड्युकसँग गरेका थिए, उनी तमाखु कम्पनीकी मालिक थिइन्। यी दुवैकी साथी हेलेन रोकास भन्छिन् ‘ड्युक खेलौनाको शौखिन थिइन् तर रुबि खेलौना थिएनन्।’

उनले बारबरा हटनसँग पनि विवाह गरे। जो न्युयोर्कको एक व्यवसायिक परिवारकी महिला थिइन्। संयोग थियो, ड्युक र हटन साथी थिए तर विवाहपछि उनीहरुको सम्बन्ध प्रतिस्पर्धात्मक बन्यो।

विवाह गरेको दुई महिनामा नै हटन रुबिरोसलाई छोडेर गइन्, तर रुबिरोसलाई यो विवाहबाट ११ मिलियन डलर रकम आम्दानी भएको थियो। लेवि भन्छन् ‘उनी जिगोलो थिए, पैसाका लागि प्रेम बेच्थे।’

रुबिरोस जासुस थिए
रुबिरोस १९३०–१९६१ को अवधिमा सेनामा काम गर्दा डोमिनिकनका राष्ट्रपति तुरजिलोका लागि जासुसीको काम पनि गर्थे। जब रुबिरोस डोमिनिकनको राजदुत बने यो क्रममा उनी बर्लिन, पेरिस, भिन्सी, बुरनो एरिस, ब्रसेल्सलगायतका ठाउँमा बसे। उनी यस्ता थिए कि कुनै राजासँग हात मिलाउँथे र रानीसँग शारीरिक सम्बन्ध राख्थे।

१९४६ मा उनीमाथि एक आक्रमण भयो। यो आक्रमण उनकी पत्नि अभिनेत्री डेनियल डेरिक्सलाई लक्षित गरी भएको थियो तर उनले आफ्नी पत्निलाई बचाए। जसमा रुबिरोसलाई तीन गोली लागेको थियो। १९६५ मा ५६ वर्षको उमेरमा पोर्फिरियो रुबिरोसको दुर्घटनामा मृत्यु भयो। नशामा हुँदा उनले चलाएको गाडी पेरिसको एक रुखमा गएर ठोक्किएको थियो।

कतिपय मानिसहरुले रुबिरोसको हत्या भएको बताउँछन् भने कसैले उनले आत्महत्या गरेको। ‘उनीसँग केही पनि थिएन्, जुन अरुको लागि खतरानाक थियो र उनी आफूमा पनि खतनाक थिएनन्।’ लेवी पनि उनको हत्या वा आत्महत्या भएको हुन सक्ने अनुमान गर्छन्।

लेखक भन्छन् ‘कतिपय मानिसहरु रुबि जस्ता व्यक्ति यो संसारमा नभएको राम्रो हुने बताउँछन्। तर म उनको तारिफ गर्छु। उनीसँग मानिसलाई खुशी बनाउने कला थियो। उनले आफ्नो जीवन सानसँग बिताए। धेरै सफल र धनी व्यक्तिको माझमा आफूलाई फिट राखे।’

र लेवीले मजाक गर्दै भने ‘मलाई लाग्दैन उनी खराब थिए तर मलाई यसमा खुशी छ की मेरी छोरीसँग उनको भेट भएन्।’