काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय राजदुतको बिदाई भेट देखेर लज्जाबोध भएको टिप्पणी गरेका छन्। उनले शनिबार ट्वीट गर्दै भारतीय राजदूत मञ्जित सिंह पुरीको विदाइमा राष्ट्रपति र दलका नेताले सहभागी जनाएकोप्रति असन्तुष्ट व्यक्त गरेका छन्।
‘राजदुतहरु आउने जाने क्रम चलिरहन्छ। त्यो स्वभाविक हो’, थापाले ट्वीटरमा लेखेका छन्, ‘तर, अहिले भारतिय राजदुतको बिदाईको सन्दर्भमा राष्ट्रपतिदेखि विभिन्न दलका नेताहरुको अस्वभाविक व्यवहार देख्दा लज्जावोध हुन्छ।’
उनले यस्तो भेटलाई नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता बढेर गएको भन्दै कडा आलोचना गरेका छन्। ‘देशमा ठुलो परिवर्तन भयो,गणतन्त्र आयो भनिन्छ’उनले व्यङ्ग्य गर्दै लेखेका छन्‘तर नेताहरुको राणाकालिन आत्मसमर्पणवादी मानसिकता भने झन् बढेर गयो।’
मंगलबार राजदूत पुरीले शितलनिवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री केपी ओलीसँग बिदाई भेट गरेका थिए। त्यस्तै आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि राजदूत पुरीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिदाइ भोज दिएका थिए।
पुरीलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर उनले भोजको आयोजना गरेका हुन्। भोजमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकास शरण महत लगायत नेताहरु पनि सहभागी थिए।
सत्तारुढ दल नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालसँग निवासमै पुगेर राजुदत पुरीले मंसिर २३ गते विदाई भेट गरेका थिए।