एजेन्सी। स्मार्ट फोनको अधिकतम उपयोगले मानिसको मनस्थिति प्रभावित पार्नका साथै यौनजीवनमा समेत असर पुर्याउन थालेको छ। मोरक्कोको कासाब्लांकामा शेख खलिफा बिन जायद अन्तर्राष्ट्रिय विश्वविद्यालय अस्पतालको यौन स्वास्थ्य विभागमा गरिएको अध्ययनले उक्त दाबी गरेको हो।
अध्ययनमा सामेल ६ सय जनामध्ये करिब ६० प्रतिशत व्यक्तिले स्मार्टफोनका कारण आफ्नो यौनजीवनमा समस्या आएको स्वीकार गरेका हुन्। अध्ययनमा सामेल सबैसँग स्मार्टफोन थियो। यसमध्ये ९२ प्रतिशत व्यक्तिले स्मार्टफोनलाई राति उपयोग गर्ने कुरा स्वीकार गरेका थिए।
तर करिब १८ प्रतिशतले आफ्नो फोनलाई सुत्ने कोठामा ‘फ्लाइट मोड’ मा राख्ने कुरा जनाए। अध्ययनअनुसार स्मार्ट फोनले २० वर्षदेखि ४५ वर्षसम्मका वयस्कमा नकारात्मक प्रभाव पार्ने देखिएको छ। जसमा ६० प्रतिशतले फोनले आफ्नो यौन क्षमतालाई प्रभावित गरेको बताए।
अध्ययनमा सरिकमध्ये करिब ५० प्रतिशतले लामो समयसम्म स्मार्टफोन उपयोग गर्ने बानीका कारण यौनजीवन राम्रो नरहेको उल्लेख गरे। यस्तै, अमेरिकी कम्पनी स्योरकालको एक सर्वेक्षणअनुसार करिब तीन चौथाइ व्यक्तिले राति आफ्नो ओछ्याउनामा फोन राखेर सुत्छन्।