पोखरा। पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि चितवन राइनोजले उचालेको छ। विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै उपाधि उचालेको हो।
चितवनले दिएको २०३ रनको विजय लक्ष्य विराटनगरले भेट्न सकेन। विराटनगरले पुरै २० ओभर खेल्दा सात विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो। चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो।
मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले। ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पहि टिमलाई जित दिलाउन भने सकेनन्। यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६, पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए। चितवनका करन केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए। यस्तै रोहण मुस्तफाले समान १/१ विकेट हात पारे।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो। चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले। दुवै ब्याट्सम्यानले समान ५०/५० रन बनाए।
यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे। विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २/२ विकेट लिए। किशोर महतोले १ विकेट लिए। चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो।
गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको थियो। पीपीएल उपाधिसंगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधि जित्न सफल भएका छन्। यसअघि उनको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि उचालेका थिए।