अध्यागमन छलेर काठमाडौं आएका थिए चिनियाँ

Chiniya_Hyakars
नेपाली बैंकका एटीएम ह्याक गरी रकम लुटपाट गर्दा गर्दै गत असोजमा पक्राउ परेका चिनियाँहरु/ फाइल तस्वीर
लाेकपाटी न्यूज

काठमाडौं। इन्टरपोलको रेडकर्नर नोटिसमा सूचीकृत तीन जना चिनियाँ कुख्यात अपराधी अध्यागमनलाई छलेर नेपाल भित्रिएको खुलासा भएको छ। चीनमा अपराध गरेर भागेका उनीहरू पछिल्लो एक वर्षको अवधिमा पर्यटक र बिजनेस भिसामा नेपाल भित्रिएका हुन्।

‘ईजी ००९१७४५’ राहदानी भएका जहाङ जोङमोउले ०७६ भदौ १२ मा र ‘ईडी ८७८९४६५’ का यु अइहाइले ०७५ मंसिर १२ मा पर्यटक भिसा लिएका थिए भने ‘ईई ७८६२३१०’ राहदानीवाहक क्यु क्विङले ०७६ कात्तिक २ मा बिजनेस भिसा लिएका थिए। उनीहरूको भिसा अवधि सकिइसकेको छ।

चीनले उनीहरूलाई कुन कसुरमा अपराधी ठहर गरेको भन्नेबारे अध्यागमनका अधिकारीले खुलाउन नचाहेको खबर कान्तिपुर दैनिकले लेखेको छ। कुख्यात अपराधीहरू कसरी वैधानिक रूपमा नेपाल भित्रिए भन्ने कान्तिपुरको प्रश्नमा विभागका निर्देशक रामचन्द्र तिवारीले नेपाल भित्रिएपछि मात्रै इन्टरपोलले उनीहरूविरुद्ध रेडकर्नर नोटिस जारी गरेको दाबी गरे।

‘नेपाल आइसकेपछि मात्रै उनीहरूलाई इन्टरपोलले रेडकर्नर सूचीमा राखेर खोजबिन गरेको हो,’ उनले भने, ‘उनीहरू रेडकर्नर नोटिसधारी अपराधी हुन् भनेर हामीलाई जानकारी आएको छ। अध्यागमनको कालोसूचीमा राखेर खोजबिन बढाइसकेका छौं।’

उनका अनुसार अध्यागमनको अभिलेखअनुसार तीनै जना नेपालबाट बाहिरिएको देखिँदैन। रेडकर्नर नोटिसधारी जहाङ सन् २०१९ अगस्ट २९ मा नेपाल भित्रिएका थिए। युलाई २८ नोभेम्बर २०१८ मा आएर २५ फेब्रुअरी २०१९ सम्म बस्ने गरी विभागले पटक–पटक गरेर भिसा दिएको देखिन्छ।

क्युले २०१९ अक्टोबर १९ मा आएर नोभेम्बर २७ सम्मको भिसा लिएका थिए। उनीहरूलाई पक्राउ गरिदिन चीनले एक महिनाअघि नेपालस्थित आफ्नो राजदूतावासमार्फत कूटनीतिक पत्राचार गरिसकेको छ।

चीनको विदेश मन्त्रालयले नेपालको परराष्ट्र मन्त्रालयलाई पक्राउ गरिदिन पत्राचार गरेको थियो। परराष्ट्रले गृह मन्त्रालय हुँदै मंसिर तेस्रो साता प्रहरी प्रधान कार्यालय र अध्यागमन विभागलाई त्यसको जानकारी गराएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्