काठमाडौं, १२ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विचारमा एकतारुपता भए मात्र एकीकृत पार्टीको उद्देश्य प्राप्त हुने बताएका छन्। आज बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘इतिहास र वर्तमानमा क्रान्तिका लागि जनमत निर्माण गर्ने काम सचेत व्यक्तिबाट नै भएको छ।
नेतृत्वले सही समयमा सही निर्णय गर्दा ठूला ठूला परिवर्तन भएका छन्।’ परिवर्तनलाई उल्ट्याउने प्रयास भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यो कुनै हालतमा सफल हुन नसक्ने बताए। ‘अहिलेको अन्तर्रा्ष्ट्रिय र राष्ट्रिय परिवेशमा जनमत निर्माण मूख्य विषय भएको छ। त्यसमा पनि इन्टरनेट र डिजिटलाइज्डले मूख्यरूपमा काम गरेको छ। त्यसको लागि जनताका पक्षधर सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुन्छ।’
उनले मिडिया बुर्जुवाको हातमा रहेको भन्दै यसप्रति सजक हुनुपर्नेमा जोड दिए। अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र समृद्धिको लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका क्रममा गरिएको प्रतिवद्धताअनुसार नै नेकपा र सरकारले काम गरिरहेको प्रचण्डको भनाई थियो। ‘पार्टी एकताका लागि हामीले जे भनेका थियौँ, त्यही गरेका छौं । पाँच वर्षको लागि सरकार दिन्छौँ भनेका थियौँ, त्यो हामीले दिएका छौं । पाँच वर्षको लागि बनेको सरकारले इमानदारीका साथ काम गरिरहेको अध्यक्ष प्रचण्डले भने ।’