नवलपरासी, पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्युठान, रोल्पा, गोर्खा, सल्यान रूपन्देही, काठमाडौं, रामेछाप, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, सर्लाही, महोत्तरी, उदयपुर, धनुषाको पहाडी भाग, मोरङ, पाँचथर लगायतका क्षेत्रहरूमा बसोबास गर्दछन्। मगरहरुले नेपालको एकीकरणमा अत्यन्त ठूलो भूमिका निभाएका थिए। ठूला ठूला लडाईंका मोर्चाहरूमा गोर्खाली सेनाका रूपमा बहादुरी देखाउँदै यो जातिका युवाहरूले अन्य जातिसित काँधमा काँध मिलाएर बहादुरीपूर्वक लडेर मातृभूमि नेपाललाई विदेशी शक्तिहरूबाट बचाएको इतिहास पाइन्छ।
(१) इतिहासमा मगर जाति
परापूर्वकालमा मानिसका तीनवटा रङ्गका महाजाति थिए— कालो सेतो र पहेंलो। एसियाको मध्य भागमा मंगोलवंशका मानिसहरूको बसोबास थियो। मानव विकासको साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तरमा मंगोलिया भन्ने देश आज पनि विद्यमान छ भने २००० वर्ष अगाडिसम्म पनि विहारमा मगध भन्ने राज्य थियो। नेपालमा पनि त्यही आदिम कालको मंगोल वंशको नाम बोकेर मगर जाति बाँचिरहेका छन्। त्यसकारण मगर जाति मंगोल हुनुको साथै मगध पनि हो।
पश्चिम तिब्बतलाई मांगरिस पनि भनिन्छ। यसको अर्थ त्यहाँ मगर जातिको बसोबास थियो। मंगोल (हाल चीन) को ऐतिहासिक जन्तु ड्रागन गंगा मैदानका नदीहरूमा पाइने गोहीहरू हुन्, जसलाई मगरमच्छ भनिन्छ। यो भनेको मंगोल–माछा भनेको हो। यसरी मंगोलियादेखि मगधसम्म फैलिएको भूभाग नै प्राचिन मगरात हो। तर, मगर जाति र मगरात भन्नाले हाल नेपालको सबैभन्दा ठूलो जनजाति र पूर्वमा त्रिशुली र पश्चिममा कर्णाली नदी बीचको मध्यपहाडि भूभाग भन्ने बुझिन्छ। ईशा ११ शताब्दीतिर खस साम्राज्यको ऐतिहासिक अभिलेखमा ‘मंग्वर विषय’ भनिएको छ। पछि खस साम्राज्य विस्तार हुँदै जाँदा खस र मगरहरू छ्यासमिस भए। बुढाथोकी (बुढा), रोक्का, थापा, राना आदि थरहरू खस र मगर दुवै जातिमा पाइन्छन्। हड्सनको भनाई अनुसार जो मगरहरू खस साम्राज्यको अधिनमा परे तिनीहरू खस भए, जो मगरहरू मगरातमा परे तिनीहरू मगर भए।
सम्भवतः करिब २५०० वर्ष पहिलेदेखि भोटबर्मेली मूलका मानिसहरू नेपालमा बसोबास गर्दै आएको भनिन्छ। ५ औं शताब्दीको उत्तराद्र्धमा आएर लिच्छवीहरूले राज्य गरे। ८ औं शताब्दीको उत्तरार्धमा लिच्छवी वंश अस्त हुन थाल्यो र सन् ८७९ देखि नेवार युगको उदय भयो। १३ औं शताब्दीको पूर्वाद्र्धमा संस्कृत शब्द मल्ल थर भएका नाइकेहरूको उदय हुन थाल्यो।
लिच्छवी काल र मल्ल कालको इतिहास भनेको अहिलेको सिंगो नेपालको इतिहास होइन। यो तत्कालिन समयको काठमाडौं उपत्यकाको इतिहास हो। नेपाल एकीकरणपूर्व पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल हालको सङ्घीय नेपालको ४, ५ र ६ नम्बर प्रदेशको अधिकांश पहाडी क्षेत्र बाह्र मगराँत, अठार मगराँतको इतिहास मानिन्छ, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमको अधिकांश भूभाग खसराज्यको इतिहास मानिन्छ।
नागराज जावेश्वरका सन्तानहरूले डुल्लुमा किर्तिस्तम्भ राख्ने पृथ्वी मल्ल सम्मको ३०० वर्षको खस साम्राज्यमा बुद्ध धर्मले राजकीय धर्मको स्थान पाउनुको साथै बुद्ध धर्मले विकास गरेको कुरा शिलालेख तथा अन्य अभिलेखहरूले प्रष्टयाएको छ। खस साम्राज्य कालमा खस र मगरहरू छ्यासमिस भएका थिए। खस साम्राज्यको आधिपत्यमा आउनु अघि कर्णालीदेखि त्रिशुलीसम्मको मध्यपहाडि भूभाग मगरात थियो। वि.सं. १०५५ मा लेखिएको अस्टसाहस्रिका प्रज्ञापारमिता बौद्ध ग्रन्थ गुल्मीका सुवर्णकार राना मगरले लेखेका थिए। वि.सं. ११२६ तिर लमजुङका गंगा रानाले सो ग्रन्थ सारेका थिए।
ती ग्रन्थहरूमा तिनीहरूलाई ‘राणक’ लेखिएको छ। राणक शब्दको अर्थ सामन्त राजा हो। वि.सं. ११५७ को एक अभिलेखमा ‘मंग्वर विषय’ भनेर उल्लेख गरेको हिसाबले पनि खस साम्राज्यभन्दा अगाडि मगरात राज्य थियो भन्ने प्रमाणित गर्दछ। काश्मिरका इतिहासकार कल्हणले लेखेको राजतरंगिनीमा सन् ७८२ मा काश्मिरका राजा जयापीडले नेपालमा हमला गर्न आउँदा मगरातका राजा अरमुडीले पराजित गरेको कुरा लेखेको छ। राजतरंगिनीमा अरमुडिको किल्ला कालीगण्डकी किनारमा (पाल्पा–गुल्मी) रहेको उल्लेख गरेको छ।
बाइसे चौबिसे राज्यमा बिखण्डित खस राज्यहरू देखा परेपछि छ्यासमिस हुँदै गए। पृथ्वीनारायण शाहले ‘म मगरातको राजा हुँ’ भनेर गर्व गरेको हिसाबले मगरातको अस्तित्व सिद्ध हुन्छ। पृथ्वीनारायण शाहका पुर्खा द्रव्य शाहले लिगलिगकोटमा मगर राजालाई झुकाएर राज्य हात पारेका थिए। हाल मगरहरू नेपालको ७५ जिल्लामै बसोबास गरेको भेटिए तापनि पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलको मध्य पहाड र तराईमा घना उपस्थिति देखिन्छ। पाल्पा, नवलपरासी, तनहुँ, बाग्लुङ, रोल्पा, स्याङ्जा, प्यूठान, गुल्मी, दाङ, सुर्खेत, म्याग्दी, रुकुम, अर्घाखाँची, गोरखा, आदि जिल्लाहरूमा मगरको जनसंख्या बढी छ।
मगरहरूलाई नागवंशी पनि भन्ने गरेको पाइन्छ। मगध नागहरूले नै बनाएको प्राचीन बस्ती हो। मगध देशको पुरानो नाउँ किंकत थियो। किंकत क्षेत्रभित्र गया पनि पर्दथ्यो। किंकत देशमा अनार्यहरु बसोबास थियो। यस क्षेत्रलाई आर्यहरूले पापभूमि भन्दथे र त्यहाँ एक समयमा शिशुनाग परिवारको काकवर्णले शासन गर्दथ्यो। ती नागजातिलाई मगः पनि भनिन्थ्यो। यो जातिको नाउँबाट मंगोल–मंग्वर–मगर–मगध भएको हो। मगधमा महाभारत कालमा जरासन्ध भन्ने प्रतापी राजा थियो। जो कौरवको पक्षमा थियो। जसलाई कृष्णले झेल गरेर भीमसेनबाट मारिएको थियो।
जरासन्धपछि उसैका छोरा सहदेव र अन्य सातपुस्ता सम्मले शासन सम्हाले। जरासन्धले शासन गर्दा ताका पनि राजगिरमा नागको ठूलो मन्दिर थियो। राजकीय पूजा हुन्थ्यो। जरासन्धको बाबु वृहदरथ र बाजे बासु थियो। रामायणले बासुले नै मगध (गिरिब्रज) मा आफ्नो राजधानी स्थापना गरेको भन्दछ। यो वृहदरथको वंश छ शताब्दी ईशापूर्वतिर समाप्त भयो र शिशुनाग वंशका विम्बिसार वृद्धको जीवनकालमा भारतको सबैभन्दा शक्तिशाली राजतन्त्रको रूपमा पुनःउदय भयो। पछि आर्यहरूको प्रभाव बढे पनि मगध (मगर) हरूलाई ब्रात्य क्षेत्री भनिएको छ। विम्बिसारका छोरा अजात शत्रु र नाति उदायीले कोसल, कासी, वैशाली आदि राज्यहरू भित्रै मगध राज्यलाई विशाल बनाएको थियो।
लुम्बिनीमा भगवान बुद्ध जन्मदा नन्द र उपनन्द नाउँ गरेका त्यही गाउँका दुई जना नागले शीतल र न्यानो पानीले नुहाइदिएको पोखरी आज पनि विद्यमान छ। सम्राट अशोकले नवलपरासीको रामग्राममा बुद्धको अस्थीधातु भएको स्तुप फोड्न खोज्दा त्यहाँ नागहरूले फोड्न नदिई संरक्षण गरेको कुरा पनि ग्रन्थमा लेखिएको छ। लुम्बिनी र रामग्रामका बासिन्दा नागहरू नै मगरहरू हुन्।
अचेल पनि नवलपरासी, रूपन्देही, पाल्पा, स्याङ्जा, तनहुँ, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ, रोल्पा, रुकुम, डोल्पासम्म मगरहरूको घना बसोबास छ। पश्चिम तिब्बतलाई पनि मांगरिस भनिनु र ब्रम्हौं शताब्दीमा खारिप्रदेशका शासक नागराज जोवेश्वरे जुम्लासिंजामा आफ्नो राजधानी सारेर कर्णाली प्रस्रवन क्षेत्रमा खस साम्राज्य स्थापना गर्नुले मगर जातिको पश्चिम नेपालमा रहेको गौरव र प्रतिष्ठा उजागर गर्दछ।
(२) मगर जातिको धर्म
डोल्पाको सहरतारमा निर्मित भव्य तारा गुम्बा मगरहरूको हो। मगर लामाले पूजाआजा गर्दछन्। महायान लामा मान्ने मगरहरू डोल्पा, रुकुम, रोल्पाका बुढा मगरहरू हुन्। पाल्पाको बज्रभैरव सेन मगरहरूले स्थापना गरेका हुन्। त्यसतै गोरखाको गोरखनाथको गुफामा लिच्छविकालिन शिलालेखमा बज्रभैरव भन्ने शब्द फेला परेको छ। मनकामना पनि बौद्ध तान्त्रिक देवी भएको कुरा स्वयम्भूको बाह्रवर्षे सम्यकमा मनकामना पनि उपस्थित हुनुले स्पष्ट पार्दछ। पृथ्वीनारायण शाहको पालामा समेत झ्वाबहालका ज्ञानकर बाडा (गुभाजु) ले गोरखाको बज्रभैरव र मनकाममा तान्त्रिक पूजा गर्ने स्पष्ट छ। बाराही पनि बज्रयानी तान्त्रिक देवी हुन्। मनकामना, भैरवथान, बाराही सबै देवस्थलहरूमा मगर पूजारी छन्।
मगरहरू हिन्दू भएको भए र ती तान्त्रिक देवीदेवताहरू हिन्दू भएको भए मगर पूजारी हुने थिएन। कतिपय ठाउँमा मगर पूजारीलाई हटाएर बाहुन पूजारी राखेर हिन्दूकरण गरिएका उदाहरण पनि प्रशस्त छ। पाल्पाको बज्रभैरव सेन राजाहरूले नेपालमा हमला गर्न आउँदा लगेको बुङ्गुम लोकेश्वर (रातो मच्छेन्द्रनाथ) को सेवक ह्याग्रिव भैरव हो। ती सेन राजाहरू पनि बौद्ध अनुयायी भएकोले नोपलबाट लगेर बज्रभैरव पाल्पामा स्थापना गरेका थिए। खलंगा जुम्लाको चन्दननाथ र भैरवनाथ मच्छेन्द्रनाथ र ह्याग्रिव भैरव हो, जो बौद्ध महायानी बज्रयानी देवता हुन्। यो मगर राजाले स्थापना गरेको हुनसक्छ।
सिद्धार्थ जन्मदा चिसो र तातो पानी नुहाउने नागहरू, बुद्धको परिनिर्वाण पछि बुद्ध हाम्रो नातेदार हो भनेर अस्थिधातु ल्याएर रामग्राम (नवलपरासी) मा स्तुप बनाउने र सुरक्षा गर्ने नागहरू सबै बौद्ध मगरहरू हुन्। बुद्धकालिन कोलियहरू नै नवलपरासी, रूपन्देही, पाल्पातिरका मगरहरू हुनसक्छ। खारी प्रदेशमा नागराज जावेश्वर राजा भएर पनि खस साम्राज्य स्थापना गर्ने चलन मल्लहरू खसमा मिसिन गएका बौद्ध मगरहरू हुन्।
नेपालका मगर, थारु र नेवारहरू बुद्धका नातेदार बौद्ध हुन्। शाहकालमा राणाहरूको शोषण र दमनमा परेर उनीहरूलाई हिन्दूकरण गरिएको थियो। तर, ९० प्रतिशत नेवारहरू आजसम्म पनि बौद्ध मान्छन् भने २०४६ को जनआन्दोलन पछि थारु र मगरले पनि आफूलाई बुद्धका नातेदार भएको र पहिले बौद्ध रहेको कुरा खोतलेर ल्याएका छन्। थारु र मगरहरूमा बौद्ध हुने अभियान नै चलेको छ। आपूm बौद्ध भएको स्वीकार्ने अन्य जनजातिमा तामाङ, गुरुङ, शेर्पा प्रमुख छन्।
(३) मगर जातिका थर र उपथर
मगरका प्रमुख थरहरु थापा, राना, आले, पुन, बुढाथोकी, घर्ती र रोका हुन्। मगरहरुका उपथरहरुमा लुङ्गेली, लामिछाने, मिरिङचिन, सोती, पाइजा, माकिम, रैका, रेग्मी, गाहा, खपाङ्गी, पिठाकोटे, समाल, राना, खप्तरी, घर्ती, थापा, पुन, आग्री, आले, गुरुङचन, भुरुङचन, बेङलामी, बुढाथोकी, एसमाली, भस्की, रेवाली, हिस्की, थुमसिङ, रगाता, सिढारी, दुध आले, फेङदी आले, तोर्छाली आले र सूर्यवंशी आले, असलामी, दर्लामी, पुलामी, बलामी, तङलामी, रासकोटी, बीरकट्टा, सिंजापति, गहसरु, ध्यावाङ, बुढा, सिंजाली, फेवाली, तिर्के, पेगेल, रामजोली र साव, रुखमानी, वैजाली, तिके, फुङ्जा, रोका, सथिघरे मगर लगायत झण्डै चार सयको हाराहारीमा उपथरहरू रहेका छन्।
(४) लिपि, भाषा र चाडपर्व
मगरहरुको आफ्नै परम्परागत भाषा छ, जसलाई मगर भाषा (मगर ढुट) भनिन्छ। मगर भाषालाई विस्तृत रुपमा अध्यन गर्ने हो भने रोल्पातिरका मगरहरु खाम भाषाको प्रयोग यस ढुटमा पनि केही शब्दहरु उच्चारणमा फरक पाइन्छ।
मगर जाति आफ्नै मगर भाषाका अलावा नेपाली भाषा पनि बोल्दछन्। मगर बाहुल्यता भएका धेरै गाउँहरुमा मगरहरुले नेपाली खस भाषा अहिले पनि बोल्न नजान्नेहरु छन्। मगर जातिका नेपालीहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन्। दशैं, तिहारका अलावा मगरहरू धुमधामसँग भँयर, माघे संक्रान्ति, नाग पूजा आदि पर्व मनाउने गर्दछन्। भोट–बर्मेली भाषाअन्तर्गत पर्ने भाषालाई ढूट, खाम र काइके गरी ३ भागमा वर्गीकरण गरिएको छ।
मगरहरुले अक्खालाई आफ्नो प्राचीन लिपि भएको दावी गर्दै आएका छन्। लिपिमा मगरहरुबीच नै विवाद हुँदा उनीहरुको दैनिक जीवनमा पनि देवनागरी लिपि प्रख्यात हुन पुग्यो। अहिलेसम्म मगर भाषा सिक्ने किताबहरु, मगर कर्मकाण्ड विधि, मगर शब्द संग्रह, ब्याकरण, भाषाका चलचित्रहरु, मगर भाषाका गीति क्यासेटहरु, मगर भाषाका गीत संग्रह, मगर भाषामा बिभिन्न पत्र पत्रिका प्रकाशित भएका छन्। यी साहित्य र संगीतहरुले मगर जातिको लिपि र भाषाको उत्थान र विकासमा सहयोग गरिरहेका छन्।
(५) भेषभुषा र जीवनशैली
भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलोरनिलो पटुकी, गलामा पहेँलोरहरियो पोते साथैमा कण्ठमाला, मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी, नाकमा बुलाकी आदि पहिरन पुरुषहरुको विशेष पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शिरमा टोपी अनि महिलाहरुको बिशेष पहिरन मखमली चोली र घलेक, शिरमा शिरफूल अनि चन्द्र, कानमा माडवारी, नाकमा बुलाकी मगर जातिका पहिरनहरु हुन्।
मगर समुदायमा पनि अन्य जनजातिहरू जस्तै कृषि पेशामा आश्रित रहेको छ। अधिकांश मगर समुदायहरू खेती–किसानी गर्दछन्। घरमा गाई, भैंसी, भेडा, बाख्रा, सुँगुर र कुखुरा पनि पाल्ने गर्दछन्। विकट भेकका मगरहरू डोको, मान्द्रो, गुन्द्री, नाम्लो, चकटी, घामपानीबाट ओत लाग्न बाँसको चोया र ठूलो पातले बुनेर बनाएर ओढ्ने स्यागु (घुम) बुन्ने गर्दछन्। यसका साथै मगरहरू घर निर्माण कला, खानीको काम, ढुङ्गा काट्ने काम आदिमा पनि सिपालु रहेका हुन्छन्। घर निर्माण र खेती किसानीका अतिरिक्त सेनामा समेत मगरहरूको बाहुल्यता रहेको पाइन्छ।
पछिल्लो समय मगरहरू अस्पताल, इञ्जिनियरिङ, शैक्षिक, सुरक्षा, पत्रकारिता, कानूनी, विकास निर्माण, राजनीतिक क्षेत्रमा पनि संलग्न रहेका छन्। राजनीतिक क्षेत्रमा मगरहरुको उपस्थिति र क्षमता पनि क्रमशः बलशाली बन्दै गएको छ। निजामती प्रशासनमा पनि मगर जातिको उपस्थिति क्रमशः बढ्दै गएको देखिन्छ। अन्यन्तै इमान्दार जातिका रुपमा परिचित मगरहरु आधुनिक समाजमा लोकप्रिय बन्दै गइरहेका छन्।
मगर जातिका प्रमुख लोक बाजाहरूमा खैँजडी, मादल, अलङ्का, कुटकुटे, मचेटा, दुन्दी, च्याखुरेबाजा, केतुकी बाजा, छेलर, पैजन, दरबङा, रिङ, डम्फू, दमाहा, मरुली, डौदी, झ्याली आदि रहेका छन्। मगर जातिका बाजा, पर्व र नाँचहरु पछिल्लो समय सबै जातिका साझा बाजा र पर्वका रुपमा विकसित पनि हुँदै गएका छन्।
(६) प्रथम शहिद लखन थापा
लखन थापा मगर नेपालका प्रथम शहीद हुन्। राणा शासन बिरुद्ध आवाज उठाउने उनी पहिलो व्यक्ति थिए। तत्कालिन समयमा उनी नेपाली सेनामा क्याप्टेन थिए, जो जङ्ग बहादुर राणाका तानाशाही हुकुमी शासनका बिरुद्धमा उत्रेका थिए। त्यस बेला उनले आफैलाई स्वतन्त्र राज्यको राजा घोषित गरेका थिए र उनका जयसिंह चुमी मगर मन्त्री थिए। उनले बुङ्कोट गोर्खामा आफ्नो छुट्टै राजधानी स्थापित गरेका थिए, जहाँ उनको आफ्नै तीनतले दरबार थियो, साथमा सेना र परेड मैदान पनि। थापालाई राणा सरकारले वि.सं. १९३३ फागुन ३ गते सयौं मगरहरूले देख्ने गरेर गोर्खाको उनकै गाउँमा लगेर खिरौंको रुखमा झुण्ड्याएर फाँसी दिएको थियो।