काठमाडौं। एनआईसी एशिया बैंकले अर्घाखाँचीको छत्रदेव गाउँपालिका ७ देउरालीमा ४५औं शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। यस बैंकले ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा आफ्नो सशक्त उपस्थिति बनाउँदै लगेको छ। गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्ने क्रममा एन आई सी एशिया बैंकले देउरालीमा सो सेवा सञ्चालनमा ल्याएको हो।
बैंकले सञ्चालनमा ल्याएको देउराली शाखारहित बैंकिङ्ग सेवाको छत्रदेव गाउँपालिका ७ नम्बर वडाका वडा अध्यक्ष शोभाखर पाण्डेले उद्घाटन गरेका थिए। उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा कृष्ण प्रसाद पाण्डेलाई नियुक्त गरिएको छ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयवासीहरुले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ्ग सेवा लिन सक्नेछन्। यो सेवा सञ्चालनमा आएसँगै बैंकिङ्ग कारोबारको लागि लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भएको छ। ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ।
यस्तो सेवाबाट स्थानीयबासीहरुले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन्।
एनआईसी एशिया मुलूकभर ३१३ शाखा कार्यालयहरु, ४०६ एटिएम, ९८ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलूककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। करिब २० लाख ग्राहक साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।
उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। वित्तीय समावेशीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।