राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र बङ्गलादेशको संसदीय टोलीबीच भेटवार्ता

Ganesh timilsena
लाेकपाटी न्यूज

काठमाडौं, १३ पुस । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको बङ्गलादेशको संसदीय टोलीले शिष्टाचार भेटवार्ता गरेको छ । बङ्गलादेशको दलित र अल्पसङ्ख्यक आदिवासीसँग सरोकार राख्ने संसदीय समितिका सभापति मनोरञ्जनशील गोपाल नेतृत्वको टोलीले अध्यक्ष तिमिल्सिनासँग सिंहदरवारस्थित कार्यकक्षमा भेट गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसङ्ख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यले सो प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी तथा अल्पसङ्ख्यकबारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गर्दै सङ्घ, प्रदेश र स्थानीय तहसम्म सो समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी गराएका थिए ।

भेटमा अध्यक्ष तिमिल्सिनाले भने, ‘नेपालको संविधानले जात, धर्म, भाषा, पेशा, वर्ग, शारीरिक अवस्थाको आधारमा भेद्भाव नगरिने कुरालाई सुनिश्चित गरेको छ । सङ्घीय संसद्ले पनि यससम्बन्धी मौलिक तथा अन्य थुप्रै कानून निर्माण गरिसकेको छ ।’ अध्यक्ष तिमिल्सिनाले दुई देशबीच शिक्षा, स्वास्थ्य, व्यापार, ऊर्जा, कृषिलगायतका क्षेत्रको सहकार्यलाई अझै बढाउनुपर्नेमा जोड दिएका थिए । उनले भ्रमण दलमार्फत नेपाल भ्रमण वर्ष २०२० मा बङ्गलादेशका नागरिकलाई नेपाल भ्रमण गर्न निमन्त्रणा समेत दिए ।

सो अवसरमा सभापति गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानूनी व्यवस्था प्रशंसायोग्य रहेको बताउँदै बङ्गलादेश सरकार दलित, अल्पसङ्ख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारमा लागिपरेको उल्लेख गरे । उनले नेपालको संविधानमा केन्द्रदेखि स्थानीय तहसम्म सो समुदायका लागि दिएको अधिकारबाट बङ्गलादेशले सिक्दै कानूनी रूपमै सुधार गर्ने उल्लेख गरे ।रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्