पूराना सोचका शिक्षकबाट सार्वजनिक शिक्षा सुध्रिँदैन

Ishwor-Pokhrel
लाेकपाटी न्यूज

काठमाडौं। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सामुदायिक विद्यालयलाई अब शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो बन्न नदिने बताएका छन्। सरकारले सार्वजनिक शिक्षाको सुदृढीकरणलाई प्राथमिकतामा राखेको स्पष्ट पार्दै रक्षामन्त्री पोखरेलले अब पुरानै ढर्रामा नेपालको शिक्षा अगाडि नबढ्ने जिकिर गरेका हुन्।

काठमाडौं धापासीस्थित तिलिंगाटार माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं भवन समुदघाटन समारोहमा बोल्दै मन्त्री पोखरेलले पुराना सोच भएका शिक्षकका कारण सार्वजकि शिक्षा नसुध्रिएको बताए। शिक्षकहरु पनि समयअनुसार बदलिँदै प्रविधियुक्त बन्नुपर्नेमा उनको जोड थियो।

अहिलेको शिक्षाले शैक्षिक डिग्री दिए पनि सीप नदिँदा यो भुत्ते सावित भएको भन्दै मन्त्री पोखरेलले यो विडम्वनापूर्ण सिलसिला तोड्न आवश्यक रहेको बताए। अबको आवश्यकता रोजगारी, श्रम र उत्पादनसँग गाँसिएको शिक्षा भएकोमा जोड दिँदै उनले साधारण शिक्षाको साटो व्यवसायिक र प्राविधिक शिक्षाको विकास र बिस्तार गर्नुपर्ने बताए।

‘समृद्ध नेपाल सुखी नेपाली’ कुनै चुनावी वा पार्टीको नारा नभई राष्ट्रिय आकांक्षा भएको भन्दै मन्त्री पोखरेलले यो आकांक्षा पूरा गर्न शिक्षाको सुदृढीकरण हुनुपर्नेमा जोड दिए। कृषिको आत्मनिर्भरता बढाउने र नैतिक शिक्षा आजको आवश्यकता भएको उनले स्पष्ट पारे।

तिलिंगाटार माविले सामुदायिक विद्यालयको सुधार र विकासमा अनुकरणीय प्रगति गरेको भन्दै उनले मुलुकका सबै सामुदायिक विद्यालय तिलिंगाटार जस्तै बन्नुपर्ने बताए। विद्यालयका हरेक आवश्यकता र प्रगतिमा आफनो साथ र सहयोग रहने पनि उनले प्रतिबद्धता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक सरोजकुमार पाण्डेले सबै पक्षको साथ, सहयोग र सक्रियताले विद्यालयले छोटै समयमा पनि अभूतपूर्व सुधार गर्न सफल भएको बताए। सबैको साथ र सहयोग मिले सामुदायिक विद्यालयको सुधार असम्भव नरहेको उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका रक्षामन्त्री पोखरेलले इञ्जिनियरिङ शिक्षा एवं भावातीत ध्यान भवन भवनको समेत उद्घाटन गरेका थिए। कार्यक्रममा उत्कृष्ट शिक्षक, विद्यार्थी एवं अभिभावकहरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।