काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले आफूसहित अन्य नेता कार्यकर्ताहरुलाई सुनियोजित ढंगबाट नियन्त्रणमा लिएको प्रतिक्रिया दिएका छन्। आइतबार सिंहदरबार अगाडिबाट पक्राउ परेका उपाध्यक्ष गजुरेलले आज रिहा भएपछि सो प्रतिक्रिया दिएका हुन्।
आइतबार उनीसहित १५ जना नेता-कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो। पक्राउ परेका केही सोही दिन छुटे। तर, गजुरेल भने आज बिहानमात्र रिहा भएका छन्।
रिहा भएपछि उनले भने, ‘हामी ज्ञापनपत्र बुझाउन जाँदै छौं भन्ने उपप्रधान तथा रक्षामन्त्रीसँगै गृहमन्त्रीलाई पनि थाहा थियो। उपप्रधानमन्त्रीले त समय नै दिनुभएको थियो’, गजुरेलले भने, ‘बोलाएर समातिँदा यो सुनियोजित हो कि भन्ने लागिरहेको छ।’
सीमा मिचिएको नितान्त जायज विषय लिएर जाँदा गरिएको अवरोधले सरकार फासीवादतर्फ उन्मुख भएको छनक दिएको उनको दाबी छ । ‘सीमा मिचियो, समाधान गर्नुस् भनेर ध्यानाकर्षण गराउन जाँदासमेत यो सरकारले नियन्त्रणमा लिएको छ। यो सरकार फासीवादतर्फ उन्मुख भएको संकेत हो।’