शशांक कोइरालालाई देउवाले बुढानिलकण्ठ बोलाए

Sher-Bahadur-Deuba
लाेकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा. शशांक कोइरालालाई छलफलमा बोलाएका छन्। पार्टीभित्रको विवादका विषयमा छलफल गर्न सभापति देउवाले बुढानिलकण्ठमा बोलाएका हुन्। कांग्रेस संस्थापन पक्षले बहुमतको आधारमा केन्द्रीय समितिबाट निर्णय गरेपछि संस्थापनइतर समूहको दूरी देउवा पक्षसँग झनै बढेको छ।

पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले बहुमतका आधारमा १४औं महाधिवेशनको मिति घोषणा गरेको थियो। उक्त बैठकलाई संस्थापनइतरका नेताहरुले बहिष्कार गरेका थिए। मंसिर २६ देखि बोलाइएको बैठक संस्थापनइतर पक्षले बहिष्कार गरेपछि पार्टी सभापति देउवाले बहुमतको आधारमा निर्णय गराएका हुन्। २०७७ फागुन ७ देखि १० सम्म १४औं महाधिवेशन गर्ने निर्णय भएको हो।

महाधिवेशन केन्द्रित तल्लो तहका अधिवेशनको कार्यतालिका समेत सार्वजनिक गरिएको छ। सोहि दिनको बैठकले विभागलाई बढाएर ४७ पुर्‍याएको छ। भ्रातृ संस्था तरुण दलको म्याद ६ महिना थपिएको छ। सहमतिका लागि प्रयास हुँदाहुँदै बहुमतको आधारमा निर्णय गरिएको भन्दै संस्थापन पक्षप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ। बहुमतको आधारमा गरिएको निर्णय अमान्य हुने पौडेल पक्षले जनाएको छ।

विभाग, नेविसंघ र तरुण दललगायतका विवादित् मुद्दामा छलफल गर्नका लागि पार्टीभित्र दुई पक्षका नेता सम्मिलित कार्यदल बनाइएको थियो। उक्त कार्यदल सहमतिमा पुग्न नसकेपछि देउवाले बहुमतका आधारमा निर्णय गराएका हुन्। कार्यदलमा संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधिले जिम्मेवारी लिएका थिए।

पौडेल पक्षबाट नेताहरु प्रकाशमान सिंह, दिमलेन्द्र बडु र ह्दयराम थानी थिए। यसैबीच पौडेलले थप छलफलका लागि आफू निकटका नेता बडुलाई सोमबार बिहान उनको निवास बोहराटार बोलाएका छन्।