काठमाडौं। कपिलवस्तु र नवलपुरको २ वटा वडा कार्यालयमा आगजनी गरिएको छ। गएराति कपिलवस्तुको यशोधरा गाउँपालिका-३, बसन्तपुर वडा कार्यालयमा आगजनी गरिएको हो।
वडाअध्यक्ष सरिता त्रिपाठीका अनुसार आगजनीबाट अध्यक्षको कार्यकक्ष पुरै जलेको छ। कार्यालयमा रहेको फर्निचर, कम्प्युटर र दराजमा राखिएको ३५ हजार नगद जलेर नष्ट भएको अध्यक्ष त्रिपाठीले जानकारी दिइन्।
त्यस्तै नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिका- १४ को वडा कार्यालयमा पनि आगजनी गरिएको छ। नवलपुरका प्रहरी प्रवक्ता डीएसपी मोहन खाँडका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ।
‘हामीले प्रहरी टोली त्यसतर्फ पठाएका छौं, विस्तृत विवरण आउन बाँकी छ’, उनले भने। दुवै वडा कार्यालमा आगजनी गर्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।