परदेशीको भूमिकामा गायक प्रकाश सपुत

prakash saput
लाेकपाटी न्यूज

काठमाडौं। लोक गायक प्रकाश सपुतले अब चलचित्र खेल्ने भएका छन्। प्रकाशले नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी–२’ मा डेब्यू गर्न लागेका हुन्। २०७२ सालमा ‘परदेशी’ प्रदर्शनमा आएको थियो। त्यसैको सिक्वेलमा अभियन गर्न लागेको प्रकाशले जानकारी दिए।

हिरोको रूपमा डेब्यू गर्ने कुरा भइरहेको उनले बताए। ‘हिरोको रूपमा खेल्ने कुरा भइहेको छ। अहिले नै अफिसियल रूपमा घोषणा भएको छैन। तर, निर्माता तथा निर्देशकसँग कुरा फाइनल भइसकेको छ। यसको आधिकारिक घोषणा नहुँदासम्म केही भन्न मिल्दैन’, उनले भने।

माघ पहिलो हप्ता यसको घोषणा गरिंदैछ। त्यही बेला आधिकारिक जानकारी गराइने प्रकाशले बताए। बाल्यकालदेखि नै हिरो बन्ने सपना बोकेका प्रकाशको सपना अन्ततः पुरा हुने मोडमा पुगेको छ। उनको चर्चित गीत ‘बोल माया’मा पनि बाल्यकालको कथा बोलेका थिए। जसमा बाल्यकालदेखि नै हिरो बन्ने सपना देखेका थिए।

अर्थात् जीवनमा उनी गायक बन्न नभइ हिरो बन्ने सपना बोकेर काठमाडौं छिरेका थिए। तर, उनी गायकको रूपमा चर्चामा आए। अब उनको हिरो बन्ने सपना फिल्म ‘परदेशी–२’ बाट पुरा हुने भएको छ। चलचित्र ‘परदेशी–२’ रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथाव्यथा समेटिने छ।

फिल्ममा गायक सपुतलाई अभिनेताको रूपमा अनुबन्ध गरिएसँगै निर्माण टीम अभिनेत्रीको खोजीमा लागेको छ। ‘परदेशी’को अघिल्लो श्रृंखलामा गायक प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए। ‘परदेशी’लाई दर्शकहरूले अत्याधिक रुचाएका थिए। बक्सअफिसमा झण्डै ७ करोड रूपैयाँभन्दा बढीको व्यापार गरेको थियो।