काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट पारित हुने बताए। यसबारे सरकारको धारणा परिवर्तन नभएको उनको भनाइ छ।
‘एमसीसीबारे सरकारको धारणा बदलिएको छैन। हामीले लगेर बर्खे अधिवेशनमा दर्ता गरिसकेका छौँ,’ परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यो अब संसदको विषय हो।’ एमसीसी इण्डो प्यासिफिक रणनीतिको अंग भए नभएको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा चर्को बहस भएको थियो।
यसबारे सरकारले अमेरिकासँग बुझ्ने र सचिवालयले निर्णय गर्ने सहमतिका साथ बैठक सकियो। तर त्यही बेला काठमाडौंस्थित अमेरिकी दूताबासका अधिकारीले एमसीसी, इण्डो प्यासिफिककै अंग भएको अभिव्यक्ति दिए। इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत भए पारित गर्न नहुने धारणा नेताहरुले बैठकमा राख्दै आएका छन्।
‘कसले के भन्यो भन्योतिर नजानुस्, नेपालले हस्ताक्षर गर्दा के थियो भनेर हेर्नुपर्छ। एमसीसी हामीलाई आवश्यक हो कि होइन, त्यो महत्वपूर्ण हो,’ उनले थपे। एमसीसीबारे सकारात्मक बहस गर्न र कार्यक्रमले कस्तो प्रभाव पर्छ भनेर हेरिदिन समेत उनले आग्रह गरे।