काठमाडौं, १४ पुस। सरकारको पूर्व घोषित कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका छात्रालाइ निशुल्क सेनिटरी प्याड बितरण कार्यक्रमको औपचारिक सुरुवात भएको छ। सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले महालक्ष्मी नगरपालिका ललितपुरको सिद्दिमंगल माध्यामिक विद्यालयमा अध्ययनरत छात्रालाई प्याड वितरण गर्दै अभियानको औपचारिक सुरुवात गरेका हुन्।
महिनावारी भएका बेला छात्राहरुलाई विद्यालय जान समस्या पर्ने भएकाले उनीहरुलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ मा सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई सेनिटरी प्याड खरिदका लागि एक अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैया बिनियोजित गरेको थियो।
उक्त रकम अध्ययनरत छात्रा अनुपातको आधारमा देशभरका स्थानीय तहमा उपलब्ध गराउने लक्ष्य सरकारको रहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। सेनिटरी प्याड वितरणलाई प्रभावकारी बनाउन सरकारले सेनिटरी प्याड वितरण कार्यविधि २०७६, जारी गरेको छ।
कार्यविधि अनुसार तोकिएको गुणस्तरीय प्याड खरिद तथा वितरणका लागि नेपाल सरकारले स्थानीय तहलाई आवश्यक बजेट उपलब्ध गराउने छ। स्थानीय तहबाट विद्यालयले आवश्यक प्याड प्राप्त गरी नियमित रुपमा छात्राहरुलाई उपलब्ध गराउनुपर्ने छ।